काठमाडौं। अमेरिका र इरानबीच दुई हप्ते युद्धविरामको सहमति भएको केही घण्टामै इजरायलले लेबनानमा भयानक हवाई आक्रमण गरेको छ ।
लेबनानको नागरिक रक्षा विभागका अनुसार बुधबार भएको यो आक्रमणमा कम्तीमा २५४ जनाको ज्यान गएको छ भने १,१६५ भन्दा बढी घाइते भएका छन् ।
इजरायली सेनाले बेरुतको घना बस्ती रहेका व्यापारिक तथा आवासीय क्षेत्रसहित देशभरका विभिन्न ठाउँमा कुनै पूर्व सूचना बिना नै एक सयभन्दा बढी हवाई हमला गरेको थियो ।
लेबनानका स्वास्थ्य मन्त्री राकान नासेरेद्दिनले यो आक्रमणले स्वास्थ्य क्षेत्रलाई ठूलो क्षति पुर्याएको बताउँदै अन्तर्राष्ट्रिय संस्थाहरूलाई तत्काल सहयोगका लागि अपिल गरेका छन् ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले यसलाई हिजबुल्लाहका सैन्य संरचना र कमाण्ड सेन्टरहरूलाई लक्षित गरी गरिएको दाबी गरेका छन् ।
उनले यो मार्च २ देखि सुरु भएको सैन्य अभियानकै सबैभन्दा ठूलो र योजनाबद्ध प्रहार भएको बताए ।
इजरायली सेनाले १० मिनेटभित्रै १०० भन्दा बढी लक्ष्यमा प्रहार गरेको जनाएको छ ।
यद्यपि, आक्रमणका क्रममा बेरुतका सडकमा त्रास फैलिएको थियो ।
अचानक विस्फोटका कारण मानिसहरूले सवारी साधन सडकमै छाडेर भाग्नुपरेको र बालबालिकाहरू रोइकराई गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन् ।
यो आक्रमण ठ्याक्कै त्यसबेला भएको हो जब अमेरिका र इरानबीच युद्ध रोक्न दुई हप्ताको युद्धविराम घोषणा गरिएको थियो ।
मध्यस्थकर्ता पाकिस्तानले लेबनानलाई पनि यो सहमतिमा समावेश गरिएको बताएको थियो ।
तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानलाई युद्धविराममा समावेश नगरेको स्पष्ट पार्दै हिजबुल्लाहविरुद्धको अभियान नरोकिने बताएका छन् ।
उनले इजरायलको औँला अझै ट्रिगरमा रहेको र इरानसँग फेरि युद्ध गर्न तयार रहेको चेतावनी दिएका छन् ।
लेबनानका प्रधानमन्त्री नवाफ सलामले इजरायलले अन्तर्राष्ट्रिय कानुन र मानवीय मूल्यको उल्लङ्घन गर्दै निहत्था नागरिकहरूको हत्या गरेको आरोप लगाएका छन् ।
हिजबुल्लाह र लेबनानी संसद्का सभामुख नबिह बेरीले यस घटनालाई पूर्ण युद्ध अपराधको संज्ञा दिएका छन् ।
संयुक्त राष्ट्रसंघका प्रतिनिधिले सैन्य शक्तिबाट कसैको जित नहुने भन्दै तत्काल युद्ध रोकेर वार्ताको बाटो अपनाउन आग्रह गरेका छन् ।
इरानका संसद् सभामुख मोहम्मद बागेर गालिबाफले इजरायलको यो कदमले अमेरिकासँगको युद्धविराम र वार्ताको कुनै अर्थ नरहेको बताएका छन् ।
यसले मध्यपूर्व क्षेत्रमा फेरि ठूलो युद्ध भड्किने खतरा बढाएको छ ।
यो आक्रमणले अमेरिका–इरान युद्धविरामको सुरुवाती खुसीयालीलाई तत्कालै धमिलो बनाएको छ र क्षेत्रीय तनाव थप बढ्ने देखिएको छ ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया