काठमाडौं । नेपाली कांग्रेस का नेता कृष्णप्रसाद सिटौलाले पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग्ने निर्णयलाई हास्यास्पद र अर्थहीन टिप्पणी गरेका छन्।
बुधबार अनुशासन समितिले खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेपछि सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै सिटौलाले आफूहरूले मान्यता नदिएको विशेष महाधिवेशनबाट बनेको संरचनाअन्तर्गतको अनुशासन समितिले यस्तो निर्णय गर्नु नै अव्यावहारिक भएको बताए।
उनले खड्काले जारी गरेको विज्ञप्ति व्यक्तिगत हैसियतमा नभई १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यवाहक सभापतिको भूमिकामा जारी गरिएको दाबी गर्दै त्यसका लागि उनलाई मात्र लक्षित गरेर स्पष्टीकरण माग्नु उपयुक्त नभएको बताए।
सिटौलाले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधता कायम रहेको उल्लेख गर्दै विशेष महाधिवेशनको वैधानिकतामाथि आफूहरूले असहमति जनाएको र यस विषयमा सर्वोच्च अदालतमा रिट दायर भइसकेको जानकारी दिए।
उनले अन्तिम न्यायिक निर्णय नआएसम्म १४औँ महाधिवेशनबाट बनेको संरचनालाई नै वैध मान्नुपर्ने धारणा राख्दै अनुशासन समितिको निर्णय पार्टीलाई कमजोर बनाउने उद्देश्यले आएको आरोप लगाए। साथै, उक्त निर्णय आफूहरूका लागि अमान्य रहेको स्पष्ट पारे।
प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार













प्रतिक्रिया