काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल घटाउन माग गर्दै सरकार र नेपाल आयल निगम लाई २४ घण्टे अल्टिमेटम दिएको छ।
शनिबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सुनिल सिंहले तोकिएको समयभित्र मूल्य समायोजन नगरे आयल निगम घेराउ गर्ने चेतावनी दिए। उनले वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै जनतालाई महँगीको भारले थिचिएको आरोप लगाए।
सह–संयोजक अजय सोडारीले छिमेकी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहँदा नेपालमा अस्वाभाविक वृद्धि गरिएको भन्दै विरोध जनाए। उनले भारतको तुलनामा नेपालमा पेट्रोलको मूल्य अत्यधिक रहेको उल्लेख गर्दै यसलाई लज्जास्पद स्थिति भने।
उनले कर छुटको नाममा जनतामाथि झन् महँगी थोपर्ने काम भएको आरोप लगाउँदै मूल्य तत्काल नघटाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए। पेट्रोल र डिजेल/मट्टीतेलको मूल्यमा भएको ठूलो वृद्धि उदाहरण दिँदै उनले सरकार जनताप्रति गैरजिम्मेवार बनेको टिप्पणी गरे।
अभियानका अन्य नेताहरूले पनि महँगी नियन्त्रणमा सरकार असफल भएको आरोप लगाएका छन्। उनीहरूले परराष्ट्र नीति कमजोर बन्दै गएको, राष्ट्रिय स्वार्थका विषयमा मौनता बढेको तथा जनजीविकाका मुद्दामा बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
अभियानका प्रतिनिधिहरू प्रकाश बम, जनम सिंह, सुशील बुढाथोकी र अनिष त्रिपाठीले समेत पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन नगरे सशक्त आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
उनीहरूले इन्धनको मूल्यवृद्धिले समग्र बजारमा महँगी झन् चर्किने भएकाले सरकार तत्काल सचेत हुनुपर्ने बताएका छन्। साथै, जनताको आधारभूत आवश्यकता र जीवनयापनसँग जोडिएका विषयमा ढिलाइ नगर्न सरकारलाई दबाब दिएका छन्।
प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार












प्रतिक्रिया