काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग जोडिएको पछिल्लो विवादबारे स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ।
पार्टी प्रवक्ता देवराज चालीसेले जारी गरेको विज्ञप्तिमा गृहमन्त्री पदमै रहँदा अनुसन्धान प्रभावित हुन सक्ने आशंका व्यक्त गर्दै छानबिनलाई पारदर्शी र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नैतिकता र स्वच्छ राजनीतिलाई संस्थागत गर्ने हाम्रो अभियान कुनै व्यक्ति वा दल विशेषप्रति लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ केन्द्रित छ।’ साथै, कांग्रेसले यस विषयमा ढिलाइ वा ढाकछोप गर्ने कुनै प्रयास भए त्यसले सुशासन र जनविश्वासमा गम्भीर असर पार्ने चेतावनी दिएको छ।
कांग्रेसले तत्काल उच्चस्तरीय छानबिन अघि बढाउन जोड दिँदै, विवादलाई निष्पक्ष ढंगले टुंग्याउन सरकारलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
गृहमन्त्री गुरुङ विवादास्पद व्यापारी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि आलोचनाको केन्द्रमा आएका हुन्।
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार













प्रतिक्रिया