काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट राजीनामा दिन माग गरेका छन्।

व्यवसायी दीपक भट्टसँग जोडिएको ‘स्टार माइक्रो इन्स्योरेन्स’ कम्पनीमा गृहमन्त्रीको सेयर स्वामित्व रहेको कागजात सार्वजनिक भएपछि देशभर आलोचना र छानबिनको माग उठिरहेका बेला बस्नेतले पनि सामाजिक सञ्जालमार्फत राजीनामाको दबाब दिएका हुन्।

advertisement

बस्नेतका अनुसार गृहमन्त्री गुरुङ र भट्टबीच करिब २५ लाख रुपैयाँ बराबरको सेयर लगानीमार्फत सम्बन्ध देखिएको दाबी गरिएको छ। सो विषयमा निष्पक्ष छानबिन सहज बनाउन गृहमन्त्रीले पद छोड्नुपर्ने उनको भनाइ छ।

यसअघि केही मिडिया रिपोर्ट तथा बालेन शाहका समर्थकहरूले दीपक भट्टको नाम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवासँग जोडेर बदनाम गर्ने प्रयास गरेको बस्नेतले आरोप लगाएका छन्। तर अनुसन्धानका क्रममा ती नेताहरूको कुनै संलग्नता नदेखिएको उनको दाबी छ।

बस्नेतले सामाजिक सञ्जालमा लेख्दै भट्टको लगानी सम्बन्ध गृहमन्त्रीसँग प्रत्यक्ष देखिएको दाबी गरेका छन्। साथै, कार्की आयोगका सदस्य विज्ञान राज शर्माको नाममा समेत करिब १० लाख रुपैयाँ बराबरको सेयर फेला परेको उल्लेख गरेका छन्।

व्यवसायी भट्ट दोषी वा निर्दोष भन्ने निर्णय न्यायालयले गर्ने विषय भए पनि गृहमन्त्रीले पदमै बसेर छानबिन प्रभावित पार्न सक्ने भएकाले तत्काल राजीनामा दिनुपर्ने बस्नेतको तर्क छ।

उनले गृहमन्त्रीले पद नछोडे थप गम्भीर राजनीतिक परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन्।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com