काठमाडौं । अब प्रतिनिधिसभा बैठक चलिरहेको अवधिमा प्रधानमन्त्रीले हरेक महिना संसद्मा उपस्थित भई प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गरिएको छ। यस्तो प्रावधान प्रतिनिधिसभा नियमावलीमा स्पष्ट रूपमा समावेश गरिएको हो।
नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था गरिएको छ। उपनियम (१) मा उल्लेख भएअनुसार सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकमा पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि छुट्याउनेछन्। यदि उक्त दिन बैठक बस्न नसकेमा त्यसपछिको पहिलो बैठकमा सो समय निर्धारण गरिनेछ।
यो व्यवस्था अनिवार्य प्रकृतिको भएकाले सभामुखले समय तोक्नैपर्ने प्रावधान राखिएको छ।
२१ फागुन २०८२ को निर्वाचनपछि बसेको संघीय संसद्को पहिलो अधिवेशन प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनबिनै सम्पन्न भएपछि प्रधानमन्त्रीसँग नियमित प्रश्नोत्तर हुने वा नहुने भन्ने विषयमा आशंका देखिएको थियो। तर नयाँ नियमावलीले विगतझैं प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने सुनिश्चित गरेको छ।
यस कार्यक्रमअन्तर्गत सभामुखले प्रश्न सोध्ने सदस्यको नाम आह्वान गर्नेछन्। आह्वान गरिएको सदस्यले आफ्नो स्थानमै उभिएर प्रधानमन्त्रीसँग प्रश्न राख्न पाउनेछन् र प्रधानमन्त्रीले तत्काल त्यसको जवाफ दिनुपर्नेछ।
एक दिनको बैठकमा अधिकतम १५ जना सदस्यले मात्र प्रश्न सोध्न पाउने व्यवस्था गरिएको छ। एक सदस्यको प्रश्नको उत्तर सकिएपछि क्रमशः अन्य सदस्यलाई अवसर दिइनेछ।
साथै, यस्तो प्रश्नोत्तर कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था पनि गरिएको छ।
यसका लागि प्रश्न सोध्न चाहने सांसदले आफ्नो प्रश्नको विषय बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि लिखित रूपमा सभामुखसमक्ष पेश गर्नुपर्ने प्रावधान रहेको छ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार











प्रतिक्रिया