काठमाडौं । पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय जेनज नागरिक अभियानले नेपाल आयल निगमलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
मंगलबार निगमको केन्द्रीय कार्यालय पुगेर अभियानका प्रतिनिधिले प्रबन्ध निर्देशक डा. चण्डिका भट्टलाई प्रत्यक्ष भेटेर पत्र हस्तान्तरण गरेका हुन्।
पत्रमा डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्य निरन्तर बढ्दै जाँदा आम नागरिकको दैनिकी झन् कठिन बन्दै गएको उल्लेख गरिएको छ। मूल्यवृद्धिको असर सार्वजनिक यातायातदेखि दैनिक उपभोग्य वस्तुसम्म परेको र यसले बजारमा महँगी थप चर्काएको अभियानको निष्कर्ष छ।
अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पारेको औंल्याउँदै संकटको समयमा जनतालाई राहत दिनुपर्नेमा उल्टै मूल्य बढाइएकोप्रति आपत्ति जनाएको छ। दक्षिण एसियाका अन्य देशहरूले यस्तै अवस्थामा उपभोक्तालाई सहुलियत दिने नीति अवलम्बन गरेको उदाहरण दिँदै नेपालमा भने निरन्तर मूल्य वृद्धि हुनु चिन्ताजनक भएको पत्रमा उल्लेख छ।
पछिल्ला महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै नेपालमा पनि इन्धनको मूल्य समायोजन गरिएको भए पनि त्यसको भार प्रत्यक्ष रूपमा उपभोक्तामाथि परेको विभिन्न अध्ययनहरूले देखाएका छन्। ऊर्जा आपूर्ति अस्थिर बन्दै जाँदा एलपी ग्यास व्यवस्थापनमा समेत चुनौती देखिँदै गएको सन्दर्भलाई अभियानले स्मरण गराएको छ।
सरकारले मन्त्रिपरिषद् निर्णयमार्फत पेट्रोल, डिजेल र मट्टितेलमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार करमा छुट दिएको अवस्थामासमेत उपभोक्ताले मूल्य घटेको अनुभूति गर्न नपाउनु नीतिगत कमजोरी भएको अभियानको आरोप छ।
अभियानले पेट्रोलियम पदार्थको मूल्य तत्काल पुनरावलोकन गरी जनतालाई राहत दिन सरकार र नेपाल आयल निगमसँग माग गरेको छ। ध्यानाकर्षण पत्र बुझाउने टोलीमा संयोजक सुनिल सिंह, सह–संयोजक अजय सोडारी, सचिव प्रकाश बम र प्रवक्ता विर्जन विश्वकर्मा सहभागी थिए।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया