काठमाडौं । क्षेत्रीय तनाव कम गर्ने प्रयासस्वरूप इरानले पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पठाएको जनाइएको छ। उक्त प्रस्तावमा हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने र जारी द्वन्द्व अन्त्य गर्ने रूपरेखा समावेश रहेको बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले लामो समयदेखि जारी तनाव समाधानका लागि दुई चरणीय योजना अघि सारेको हो। यसलाई क्षेत्रीय संकट समाधानतर्फको सम्भावित महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्ताका लागि इच्छुक भए प्रत्यक्ष सम्पर्क गर्न सक्ने बताएका छन्। तर अमेरिकाले इरानले आणविक हतियार राख्न नपाउने आफ्नो अडान भने कायम राखेको छ।

इरानले प्रस्ताव गरेको योजनाको पहिलो चरणमा समुद्री मार्गमा देखिएको संकट र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्ने विषय समेटिएको छ। त्यसपछि दीर्घकालीन युद्धविराम र स्थायी शान्ति स्थापना गर्ने लक्ष्य राखिएको बताइएको छ।

प्रस्तावअनुसार हर्मुज जलमार्ग खुला भएपछि र नाकाबन्दी हटेपछि मात्र आणविक विषयमा औपचारिक वार्ता सुरु गरिने जनाइएको छ।

यता अमेरिकाले भने इरानलाई कम्तीमा दस वर्षसम्म युरेनियम संवर्धन रोक्न र आफ्नो आणविक भण्डार विदेश सार्नुपर्ने माग राख्दै आएको बताइएको छ। यस विषयमा इरानी नेतृत्वभित्र पूर्ण सहमति हुन बाँकी रहेको जनाइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताका लागि विशेष टोली पठाउनुभन्दा टेलिफोनमार्फत संवाद गर्न सकिने धारणा व्यक्त गरेका छन्।

उता इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तान र ओमानसँग कूटनीतिक छलफल तीव्र बनाएका छन्। साथै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।

गत फागुन २८ गते अमेरिका र इजरायलको सैन्य कारबाहीपछि ठूलो स्तरको युद्ध टरे पनि हालसम्म औपचारिक शान्ति सम्झौता हुन सकेको छैन। त्यसका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता कायम रहेको विश्लेषण गरिएको छ।

विश्वको करिब २० प्रतिशत तेल ढुवानी हुने रणनीतिक हर्मुज जलमार्गलाई इरानले आफ्नो वार्तात्मक शक्तिका रूपमा प्रयोग गरिरहेको बताइएको छ। इरानले वार्ताअघि अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, क्षतिपूर्ति पाउनुपर्ने र भविष्यमा सैन्य हस्तक्षेप नहुने प्रत्याभूति खोजेको छ।

अर्कोतर्फ अमेरिका भने इरानको आणविक कार्यक्रम, क्षेप्यास्त्र विकास र क्षेत्रीय समूहहरूसँगको सम्बन्ध नियन्त्रणमा केन्द्रित रहेको बताइएको छ। यी फरक प्राथमिकताले दुई देशबीचको दूरी अझै कायम रहेको देखिएको छ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com