काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलनमा नयाँ फेरबदल देखिने गरी राष्ट्रिय सभा संसदीय दलको नेतामा कमला पन्त मनोनयन भएकी छन्।
पार्टीको संसदीय अभ्यास र विधानअनुसार प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पन्तलाई उक्त जिम्मेवारी सुम्पेका हुन्। यसअघि यो जिम्मेवारीमा पार्टीका प्रभावशाली नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला रहेका थिए।
सिटौलालाई जिम्मेवारीबाट मुक्त गर्दै पन्तलाई अघि सारिएपछि कांग्रेसभित्र गुटगत समीकरण र आगामी राजनीतिक दिशाबारे विभिन्न अड्कलबाजी सुरु भएको छ।
कांग्रेस विधानअनुसार प्रतिनिधि सभा दलको नेतालाई राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने अधिकार रहेको छ। सोही अधिकार प्रयोग गर्दै सिटौलाको स्थानमा पन्तलाई ल्याइएको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
निवर्तमान नेता सिटौला सभापति शेरबहादुर देउवा निकटका मानिन्थे भने नवनियुक्त नेता पन्त पार्टीभित्र संस्थापन इतर पक्ष अर्थात् सभापति गगन थापा समूहसँग निकट मानिन्छिन्।
पार्टीभित्र वैचारिक तथा सांगठनिक सुधारका लागि विशेष महाधिवेशनको वकालत गर्दै आएकी पन्तको यो नियुक्तिलाई इतर पक्षको बढ्दो प्रभावका रूपमा समेत हेरिएको छ।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया