काठमाडौं। नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा राखेको नक्सामा भारतीय भूभागलाई पाकिस्तानको क्षेत्रमा देखाएपछि विवाद उत्पन्न भएको छ।

आलोचना बढेपछि निगमले माफी माग्दै उक्त सामग्री हटाएको छ।

advertisement

एयरलाइन्सको आधिकारिक फेसबुक पेजमार्फत प्रवर्धनात्मक सामग्री पोस्ट गर्ने क्रममा प्रयोग गरिएको नक्सामा गम्भीर प्राविधिक त्रुटि देखिएको थियो।

उक्त नक्सामा जम्मु–कश्मीरलगायत भारतीय भूभागलाई पाकिस्तानको नक्साभित्र समेटिएको देखिएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको थियो।

दुई छिमेकी मुलुकबीच संवेदनशील सीमा र भू–राजनीतिक विषयमा राष्ट्रिय ध्वजावाहक संस्थाले यस्तो असावधानी देखाएको भन्दै धेरैले यसलाई गम्भीर लापरवाहीको संज्ञा दिएका छन्।

विवाद बढेपछि नेपाल वायुसेवा निगमले तुरुन्तै पोस्ट हटाएर सार्वजनिक रूपमा माफी मागेको छ।

निगमले जारी गरेको स्पष्टीकरणमा उक्त त्रुटि अन्जानमा भएको र कसैको क्षेत्रीय अखण्डता वा भावनामा चोट पुर्‍याउने मनसाय नरहेको उल्लेख गरिएको छ।

ग्राफिक्स डिजाइन तथा सामग्री छनोटका क्रममा प्राविधिक कमजोरीका कारण गलत नक्सा प्रयोग भएको भन्दै निगमले आगामी दिनमा यस्ता सामग्री प्रकाशन गर्दा उच्च सतर्कता अपनाउने प्रतिबद्धता जनाएको छ।

यो घटनापछि अन्तर्राष्ट्रिय विषयमा संवेदनशीलता अपनाउनुपर्ने र संस्थाभित्र सामग्रीको गुणस्तर परीक्षण संयन्त्र थप प्रभावकारी बनाउनुपर्ने आवाज उठेको छ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com