काठमाडौं। सरकारले उपत्यकाका थापाथली, सिनामंगल, मनोहरा, शंखमुल, बालाजु लगायत क्षेत्रका अव्यवस्थित बस्ती हटाएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा विभिन्न होल्डिङ केन्द्रमा राख्ने काम अघि बढाएको छ।
तीमध्ये कीर्तिपुरस्थित राधा स्वामी सत्संग केन्द्रमा पनि धेरै परिवार बसिरहेका छन्।
त्यहाँ बसोबास गरिरहेका परिवारहरूको मुख्य चिन्ता भने बालबालिकाको पढाइ बनेको छ।

केन्द्रमा रहेका डम्बर तामाङले छोरीले बनाएको चित्र देखाउँदै सरकारले कहाँ सार्ने भन्ने अझै टुंगो नभएको बताए। उनका अनुसार खानपिनको व्यवस्था राम्रो भए पनि बालबालिकाको पढाइ रोकिने हो कि भन्ने चिन्ता बढेको छ।
त्यसैगरी, मनोज महतोले दुई सन्तानसहित चार जनाको परिवार रहेको बताउँदै बालबालिकाको शिक्षाका लागि सरकारले तत्काल व्यवस्था मिलाइदिन आग्रह गरेका छन्। उनका अनुसार पढाइ निरन्तर गराउन सके धेरै राहत मिल्नेछ।

होल्डिङ केन्द्रको अवस्था बाहिर चर्चा भएजस्तो नकारात्मक नभएको त्यहाँ बस्नेहरूको भनाइ छ। हाल राधा स्वामी सत्संग संस्थाले बिहान–साँझ खाना र दुई पटक खाजा–चियाको व्यवस्था गर्दै आएको छ।
यसअघि बाहिरबाट ल्याइने प्याकेट खानाबारे गुनासो गर्ने बासिन्दा अहिले भने सन्तुष्ट देखिएका छन्। विजय मगरका अनुसार अहिले घरजस्तै ताजा खाना पाइने भएकाले बसाइ सहज बनेको छ।

तर केही परिवारलाई रोजगारी गुम्नु अर्को ठूलो समस्या बनेको छ। थापाथलीबाट आएका पदमबहादुर तामाङ पहिले घर रंगाउने काम गर्थे। बस्ती खाली गर्न सूचना आएपछि काम छाड्नुपरेको र अहिले बेरोजगार अवस्थामा बस्नुपरेको उनले बताएका छन्।
सुरुका दिनमा खुला आकाशमुनि बस्नुपरेका परिवार अहिले टेन्टको व्यवस्था भएपछि केही राहत महसुस गरिरहेका छन्। करिब डेढ सय टेन्ट व्यवस्थापन गरिएपछि वर्षातको समस्या पनि कम भएको उनीहरूको भनाइ छ।

सुत्केरी महिला र शिशुका लागि विशेष खाना तथा दूधको व्यवस्था गरिएको छ। पाँच महिनाकी सुत्केरी अञ्जली पासवानले बस्न र खानाको व्यवस्था राम्रो रहेको बताएकी छन्।
त्यसैगरी, केन्द्रमा स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याइएको छ, जहाँ नियमित स्वास्थ्य परीक्षण र आवश्यक उपचार सेवा दिइँदै आएको छ।
यद्यपि, अस्थायी बसाइ सहज भए पनि स्थायी आवास, बालबालिकाको शिक्षा र रोजगारीको व्यवस्था छिट्टै गरिदिनुपर्ने माग प्रभावित परिवारहरूले गरेका छन्। दैनिक ज्यालादारी गरेर जीवन चलाउँदै आएका धेरै परिवार अहिले भविष्यको चिन्तामा दिन बिताइरहेका छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार













प्रतिक्रिया