काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई थप कडा बनाउने तयारी गरेको छ।

नयाँ मापदण्डअनुसार सहकारी ठगी लगायतका आर्थिक अनियमिततामा संलग्न व्यक्तिलाई पार्टीबाट उम्मेदवार बन्न नदिने स्पष्ट व्यवस्था गरिएको छ।

advertisement

पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा तयार पारिएको मस्यौदामा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ पार गर्नुपर्ने अनिवार्य शर्त राखिएको छ।

यसमार्फत योग्य र सक्षम नेतृत्व छनोट गर्ने उद्देश्य रहेको जनाइएको छ।

कानुनी मापदण्डअनुसार २१ वर्ष उमेर पूरा भएको र सम्बन्धित स्थानीय तहको मतदाता हुनुपर्नेछ।

साथै उम्मेदवारमा सुशासन, पारदर्शिता र जनउत्तरदायित्वप्रति स्पष्ट प्रतिबद्धता हुनुपर्ने व्यवस्था गरिएको छ।

पार्टीले उम्मेदवार बन्नुअघि अन्य कुनै दलको सदस्यता त्याग गरिसकेको हुनुपर्ने शर्त पनि कडाइका साथ लागू गर्ने भएको छ।

सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र लगायत आवश्यक कागजात मागिएमा उपलब्ध गराउनुपर्ने प्रावधानसमेत समावेश गरिएको छ।

विशेषगरी आर्थिक र नैतिक शुद्धतामा जोड दिँदै सहकारी बचत दुरुपयोग, मिटरब्याज, सट्टेबाजी, हप्ता असुली तथा हुन्डी जस्ता गतिविधिमा संलग्न व्यक्ति स्वतः अयोग्य हुने उल्लेख गरिएको छ।

यसैगरी, शैक्षिक प्रमाणपत्रको सत्यता, पारिवारिक तथा वैवाहिक अवस्थाको स्पष्ट विवरण दिनुपर्नेछ।

डिजिटल आचरणलाई समेत मापदण्डमा समेट्दै साइबर अपराध, चरित्र हत्या वा सामाजिक सञ्जालमार्फत दुरुपयोग गर्ने व्यक्तिलाई पनि उम्मेदवारीबाट वञ्चित गरिने जनाइएको छ।

सार्वजनिक खरिद प्रक्रियामा स्वार्थ बाझिने अवस्था भएका वा अदालत तथा अख्तियारमा फौजदारी वा भ्रष्टाचारका मुद्दा विचाराधीन रहेका व्यक्तिहरू पनि उम्मेदवार बन्न नपाउने प्रावधान राखिएको छ।

यी व्यवस्थामार्फत राजनीतिमा स्वच्छ छवि, नैतिकता र उत्तरदायित्वलाई प्राथमिकता दिने पार्टीको उद्देश्य रहेको बताइएको छ।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com