काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै त्यसबारे कुनै शंका नगर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सरकार अग्रगमनको मार्गमा दृढतापूर्वक अघि बढिरहेको बताए ।
उनले सांसदहरूले प्रस्तुत गरेका सबै सुझावहरूलाई सरकारले ग्रहण गरेको र ती सुझावहरू आगामी बजेटमार्फत कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाए । ‘लिखित तथा मौखिक रूपमा आएका सबै धारणा समेटिएका छन्, तिनलाई बजेटमा समावेश गरिनेछ,’ उनले भने, ‘हामी केवल पाङ्ग्रा फेर्न आएका होइनौँ, देशलाई अग्रगमनतर्फ लैजान आएका हौँ।’
वाग्लेले सरकार सुशासनका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढेको र त्यसै आधारमा जनताबाट जनादेश प्राप्त गरेको उल्लेख गरे । ट्रेड युनियनसम्बन्धी उठेका जिज्ञासाको जवाफ दिँदै उनले सम्पूर्ण ट्रेड युनियन आन्दोलनलाई नभई सरकारी निकायभित्रका दलगत संगठन मात्र खारेज गरिएको स्पष्ट पारे ।
“संघीय लोकतान्त्रिक व्यवस्थाप्रति हाम्रो पूर्ण आस्था छ। हामीले सुशासनका मुद्दाहरू उठाएका छौँ। सरकारी सेवाभित्र रहेका दलगत संगठनहरू हटाउने निर्णय गरेका हौँ, सम्पूर्ण ट्रेड युनियन आन्दोलन समाप्त गर्ने होइन,” उनले भने ।
इतिहासमा गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी जस्ता नेताहरू ट्रेड युनियन आन्दोलनबाट उदाएका प्रसंग उल्लेख गर्दै उनले ट्रेड युनियनको मूल्य र योगदानप्रति सरकार सम्मानित रहेको बताए ।
उनका अनुसार उक्त विषय हाल अदालतमा विचाराधीन रहेको छ । ‘हामी सामाजिक उदार लोकतन्त्रमा विश्वास गर्ने शक्ति हौँ,’ उनले थपे, ‘ट्रेड युनियनका आधारभूत मूल्यहरूलाई हामी निरन्तर सम्मान गर्छौँ।’
प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार












प्रतिक्रिया