काठमाडौं। भारत सरकारले सुन, चाँदी र प्लाटिनमजस्ता बहुमूल्य धातुमा आयात कर उल्लेख्य रूपमा वृद्धि गरेपछि यसको प्रभाव नेपाली बजारमा समेत पर्ने सम्भावना देखिएको छ।

विश्लेषक तथा व्यवसायीहरूले यसले नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवैध कारोबार र तस्करीको जोखिम बढाउन सक्ने चेतावनी दिएका छन्।

advertisement

नयाँ निर्णयअनुसार भारतले सुन र चाँदीको आयात कर ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ।

त्यस्तै, प्लाटिनममा लाग्ने कर पनि ६.४ प्रतिशतबाट बढाएर १५.४ प्रतिशत कायम गरिएको छ।

भारतले यो व्यवस्था सुन, चाँदीका सिक्का, डोरा तथा अन्य सम्बन्धित वस्तुमा समेत लागू हुने जनाएको छ।

यसैबीच, भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले केही प्रकारका चाँदी आयातलाई ‘प्रतिबन्धित’ सूचीमा राखेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्र रत्न शाक्यले भारतको कर वृद्धि र नेपालसँगको स्थिर विनिमय दरका कारण दुई देशबीच मूल्य असन्तुलन उत्पन्न हुन सक्ने बताएका छन्।

उनका अनुसार भारतमा सुन महँगो हुँदा नेपालबाट भारततर्फ अवैध ओसारपसार बढ्ने जोखिम रहन्छ।

उनले सरकारलाई आगामी बजेटमार्फत कर संरचना समायोजन गर्न सुझाव दिँदै कर दरमा ठूलो भिन्नता हुँदा अवैध कारोबार बढ्ने र औपचारिक बजार प्रभावित हुने चेतावनी दिएका छन्।

व्यवसायीहरूको प्रारम्भिक विश्लेषणअनुसार नेपालमा हालको कर संरचना भारतको तुलनामा फरक रहेकाले सरकारले आगामी बजेटमा समायोजनबारे छलफल अघि बढाउन सक्ने सम्भावना देखिएको छ।

चाँदीको हकमा भने तत्काल ठूलो नीतिगत परिवर्तनको आवश्यकता नदेखिएको व्यवसायीहरूको मूल्यांकन छ।

उनीहरूले खुला सीमा र क्षेत्रीय बजारको संवेदनशीलतालाई ध्यानमा राख्दै स्थिर र स्पष्ट कर नीति आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com