काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीले आफूमाथि लागेको आरोपबारे सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै सञ्चारकर्मीसमक्ष छाती देखाएर “मेरो ट्याटु कहाँ छ ?” भन्दै प्रश्न गरेका छन्।
मंगलबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपबारे जिज्ञासा राखेपछि सांसद कार्कीले आफूलाई त्यसबारे कुनै जानकारी नभएको बताएका थिए।
उनले समाचारबारे थप टिप्पणी गर्न चाहेनन् र बारम्बार “मलाई थाहा छैन” भन्ने जवाफ दोहोर्याइरहे।
सञ्चारकर्मीहरूले लगातार प्रश्न गरेपछि उनले अचानक आफ्नो कोट र टिसर्ट माथि उचालेर छाती देखाउँदै भने, “म तपाईंहरूलाई एउटा कुरा देखाउँछु क्या।”
त्यसपछि उनले “कहिँनेर मेरो ट्याटु छ ?” भन्दै प्रतिप्रश्न गरेका थिए।
उनले आफूविरुद्ध सार्वजनिक गरिएका भिडियो र सामग्रीमा देखाइएको व्यक्ति आफू नभएको संकेत गर्दै प्रमाण प्रस्तुत गर्न चुनौतीसमेत दिए।
“प्रोसेस होला नि त, प्रमाण देखाइसके होइन ?” भन्दै उनले छानबिनपछि मात्रै विस्तृत प्रतिक्रिया दिने बताए।
कुनै सञ्चारमाध्यमविरुद्ध कानुनी कारबाही गर्ने हो कि भन्ने प्रश्नमा पनि उनले स्पष्ट जवाफ दिएनन्।
बरु “मैले छाती खोलेर देखाएको होइन ? देख्नुभयो त ट्याटु ? अनि ?” भन्दै पुनः प्रतिप्रश्न गरे।
सांसद कार्कीले आफू २०६७ सालदेखि नेपालमा नरहेको दाबी गर्दै विगतका केही घटनासँग आफूलाई जोड्ने प्रयास भएको आरोप पनि लगाए।
उनले भने, “म २०६७ सालदेखि नेपालमा छैन। ७१ सालतिर चरी मरेको। म चरीको केटा हो त ? यत्तिकै बोल्दिने ? प्रमाण ल्याउनुपर्यो नि।”
संसद्को शून्य समयमा बोल्न नाम टिपाएर पनि किन नबोलेको भन्ने प्रश्नमा उनले आफूले हस्ताक्षर नै नगरेको दाबी गरे।
“म संसदमै थिएँ। तर मैले शून्य समयमा बोल्न सिग्नेचर गरेको थिइनँ। सिग्नेचर नगरेको मान्छेको नाम आउँदैन। तर मेरो नाम आयो,” उनले भने।
संक्षिप्त प्रतिक्रिया दिएपछि सांसद कार्की मोटरसाइकलमा त्यहाँबाट निस्किएका थिए।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया