काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारबाही नभई जिम्मेवारीमा मात्र फेरबदल गरिएको स्पष्ट पारेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । सोही बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीलाई कारबाही गरिएको नभई बदलिँदो परिस्थितिअनुसार जिम्मेवारी परिवर्तन गरिएको बताए ।
उनका अनुसार प्रधानमन्त्रीलाई शान्ति सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गरी कार्कीलाई उक्त जिम्मेवारी दिइएको हो ।
संवेदनशील विषयमा सरकारले आवश्यक कदम चाल्नुपर्ने निर्देशनसमेत आएकाले जिम्मेवारी फेरबदल गरिएको प्रवक्ता पोखरेलले बताए ।
मन्त्रिपरिषद्को निर्णयसँगै कार्की प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटेका छन् भने मनोज केसीले प्रहरी संगठनको नेतृत्व सम्हाल्ने भएका छन् ।
प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार















प्रतिक्रिया