बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बेइजिङमा भएको शिखर वार्तापछि जारी संयुक्त वक्तव्य मा चीन र रुसले जापानको तीव्र सैन्य विस्तार, अमेरिकी मिसाइल प्रतिरक्षा योजना र विश्वव्यापी आपूर्ति शृंखलामा भइरहेको अवरोधप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

दुवै देशले जापानको पुनःसैन्यीकरणलाई एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थिरताका लागि खतरा ठानेका छन् ।

advertisement

वक्तव्यमा जापानले संवेदनशील आणविक सामग्री संकलन गरिरहेको, दक्षिणपन्थी शक्तिहरूले गैरआणविक नीति परिवर्तन गर्न खोजिरहेको र दोस्रो विश्वयुद्धपछिको शान्तिवादी नीतिबाट टाढा गएको आरोप लगाइएको छ ।

चीन र रुसले जापान र नाटोबीच बढ्दो सहकार्यलाई पनि क्षेत्रीय सुरक्षाका लागि खतरा मान्दै पश्चिमी सैन्य गठबन्धनको विस्तारको विरोध गरेका छन् ।

यसैगरी चीन र रुसले अमेरिकाको ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा परियोजनाको तीव्र आलोचना गरेका छन् ।

अन्तरिक्षमा हजारौं उपग्रहबाट मिसाइल नष्ट गर्ने यो प्रणालीले रणनीतिक स्थिरतालाई खतरा पुर्‍याउने र अन्तरिक्षलाई सैन्य प्रतिस्पर्धाको क्षेत्र बनाउने उनीहरूको दाबी छ ।

संयुक्त वक्तव्यमा विश्वव्यापी व्यापार तथा आपूर्ति शृंखलामा एकपक्षीय हस्तक्षेप रोक्न आह्वान गर्दै जलमार्ग र बन्दरगाहलाई राजनीतिकरण नगर्न आग्रह गरिएको छ ।

यसलाई स्ट्रेट अफ होर्मुजको वर्तमान संकटसँग जोडेर हेर्ने गरिएको छ ।

दुवै देशले अप्रत्यक्ष रूपमा अमेरिकी गतिविधिको पनि निन्दा गर्दै कूटनीतिक वार्तालाई आवरण बनाएर आक्रमण गर्ने, शासन परिवर्तन प्रयास र राष्ट्र प्रमुखविरुद्धका गतिविधिले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्ने बताएका छन् ।

चीन र रुसले आफूलाई नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको रक्षकका रूपमा प्रस्तुत गरेका छन् ।

वार्तापछि दुई देशबीच व्यापार, ऊर्जा, प्रविधि र वैज्ञानिक अनुसन्धानसम्बन्धी २० भन्दा बढी सम्झौतामा हस्ताक्षर भएको छ ।

यसमा ‘पावर अफ साइबेरिया–२’ ग्यास पाइपलाइन परियोजनामा पनि समझदारी बनेको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com