काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवाललाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालका अनुसार चिकित्सकको परामर्शपछि अग्रवाललाई केही दिनअघि पाटन अस्पतालमा भर्ना गरिएको हो। उनी यसअघि ललितपुर प्रहरीको हिरासतमा राखिएका थिए।
शङ्कर ग्रुपका सञ्चालक अग्रवाललाई विभागले चैत २२ गते नियन्त्रणमा लिएको थियो। उनीमाथि हिमालयन रि–इन्स्योरेन्ससँग सम्बन्धित आर्थिक कारोबारमार्फत रकम हिनामिना गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
विभागले अग्रवालले अर्का व्यवसायी दीपक भट्टसँग मिलेर अवैध रूपमा रकम कारोबार तथा शुद्धीकरण गरेको आशंकामा अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार











प्रतिक्रिया