काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–७ राम्चेस्थित एक ढुंगा खानीमा ठूलो ढुंगा खस्दा टिपर चालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा परी थाक्रे गाउँपालिकाकै ३२ वर्षीय दीपेन्द्र खत्रीको मृत्यु भएको हो । उनी बा.५ ख ८५८० नम्बरको टिपर लिएर बज्रकाली रोडा ढुंगा उद्योगमा ढुंगा लोड गर्न पुगेका थिए ।
उक्त उद्योग काठमाडौँ महानगरपालिका–५ निवासी हर्कबहादुर तामाङले सञ्चालन गर्दै आएका छन् । खानी क्षेत्रमा टिपर प्रवेश गरेलगत्तै माथिबाट अचानक ठूलो ढुंगा खसेर टिपरलाई पुरिँदा चालक खत्री गम्भीर रूपमा च्यापिएका थिए । घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीय बासिन्दाले खानी सञ्चालकको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै विरोध जनाएका छन् । उनीहरूले मृतकको शव घटनास्थलबाट उठाउन समेत अवरोध गरेका छन् ।
घटनाबारे इलाका प्रहरी कार्यालय खानीखोलाले अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया