काठमाडौं । परराष्ट्र मन्त्रालयले राहदानी आवेदन प्रक्रियालाई अझ छिटो र सहज बनाइएको दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले आज आयोजित पत्रकार सम्मेलनमा सेवाग्राहीले आवश्यक कागजातसहित उपस्थित भए ३० मिनेटभित्रै राहदानी आवेदन प्रक्रिया पूरा गर्न सकिने व्यवस्था मिलाइएको बताएका छन् ।

उनका अनुसार राहदानी सेवा अहिले सामान्य अवस्थामा सञ्चालन भइरहेको छ । सेवाग्राहीलाई तोकिएको समयमा आवश्यक सबै कागजातसहित उपस्थित हुन पनि मन्त्रालयले आग्रह गरेको छ ।

advertisement

प्रवक्ता क्षेत्रीले विभागमा आवेदन दिएको भोलिपल्टै राहदानी जारी हुने व्यवस्था रहेको जानकारी दिएका छन् । साथै जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत परेको आवेदन ७ देखि १२ दिनभित्र छपाइ गरी सम्बन्धित स्थानमा पठाइने व्यवस्था मिलाइएको उनले बताए । निजी ठेगानामा राहदानी पुर्‍याउन हुलाक सेवा विभागसँग समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राहदानी विभागमा नयाँ प्रणाली लागू गर्ने काम अन्तिम चरणमा पुगेको छ । हाल आपूर्तिकर्ताबाट प्राप्त २ लाख ७ हजार ५९३ थान राहदानीमध्ये २ लाख ७ सय ३७ थान साधारण राहदानी मौज्दात रहेको पनि जानकारी दिइएको छ ।

त्यस्तै आगामी पुस मसान्तसम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई सम्भव भएसम्म जेठ मसान्तभित्रै आवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।

नयाँ आपूर्तिकर्तामार्फत हालसम्म २ लाख ५० हजार थान राहदानी आपूर्ति भइसकेको र वैयक्तिकरण परीक्षण उत्पादन सफलतापूर्वक सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

यसैबीच राहदानी विभागले ‘मोफा मित्र’ नामक मोबाइल एप सार्वजनिक गर्ने तयारी गरेको छ । उक्त एप परराष्ट्रमन्त्रीको उपस्थितिमा जेठ १२ गते सार्वजनिक गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com