हेटौँडा। वर्षौँदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने विषय फेरि चर्चामा आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत निरीक्षण गर्दै सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएकी छन् ।

advertisement

तर स्थानीयवासी भने सरकारको यो प्रतिबद्धताप्रति खासै विश्वस्त देखिएका छैनन् ।

उनीहरूका अनुसार यो उद्योग वर्षौँदेखि राजनीतिक भाषण, निरीक्षण र प्रचारको विषय मात्र बन्दै आएको छ ।

स्थानीयवासीहरू बताउँछन् कि हरेक सरकार परिवर्तनसँगै नयाँ मन्त्रीहरू उद्योगको अवलोकन गर्न आउँछन्, फोटो खिच्छन्, चलाउने आश्वासन दिन्छन् र फर्किन्छन् ।

तर केही समयपछि सबै कुरा सेलाउँछ । ‘मन्त्री आउँछन्, घोषणा गर्छन् तर उद्योग कहिले चल्ने ?’ भन्ने प्रश्न स्थानीयहरूको मुखबाट बारम्बार सुनिन्छ ।

पछिल्ला वर्षहरूमा मात्रै पटक–पटक यस्ता निरीक्षण भएका छन् ।

२०७६ माघमा तत्कालीन मन्त्री लेखराज भट्ट, २०७९ साउनमा दिलेन्द्रप्रसाद बडु र २०८१ भदौमा दामोदर भण्डारीले उद्योग सञ्चालनको प्रक्रिया अन्तिम चरणमा रहेको बताएका थिए ।

तर ती सबै आश्वासन अझैसम्म खाली नै रहेका छन् ।

२०३५ सालदेखि उत्पादन सुरु भएको हेटौँडा कपडा उद्योग एक समय देशकै प्रमुख सरकारी उद्योगमध्ये एक थियो ।

यसमा करिब १२ सय श्रमिकले प्रत्यक्ष रोजगारी पाएका थिए ।

तर २०४६ सालपछि राजनीतिक हस्तक्षेप, अव्यवस्थित नियुक्ति, बन्द–हडताल र निरन्तर घाटाका कारण उद्योग धराशायी बन्दै गयो र २०५७ माघ १८ गते पूर्ण रूपमा बन्द भयो ।

हाल उद्योगका भवन, मेसिन र पूर्वाधार अत्यन्त जीर्ण अवस्थामा छन् ।

यदि यो उद्योग सञ्चालनमा आयो भने मकवानपुरसहित आसपासका जिल्लामा ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

तर स्थानीयहरूको प्रश्न उस्तै छ — मन्त्री फेरिँदैमा उद्योग चल्ने हो कि, अब पनि निरीक्षण र प्रतिबद्धतामै सीमित रहने हो ?

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com