काठमाडौं। नेकपा (एमाले) निकट नेतृ सरिता (यमकुमारी) सापकोटाले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि उनको राजनीतिक यात्रालाई लिएर नयाँ विवाद सुरु भएको छ।

एमालेको जिम्मेवारीमा रहँदै उनले पहिले नै अर्को दलको सदस्यता लिएको तथ्य सार्वजनिक भएपछि राजनीतिक वृत्तमा नैतिकता र कानुनी पक्षबारे बहस चर्किएको हो।

advertisement

अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा एमाले बारा जिल्ला कमिटी सदस्य रहेकी सापकोटाले सामाजिक सञ्जालमार्फत एमालेबाट दिएको राजीनामा र रास्वपाको सदस्यता विवरण सार्वजनिक गरेकी थिइन्।

सार्वजनिक कागजातअनुसार उनले जेठ १३ गते एमालेबाट राजीनामा दिएकी भए पनि रास्वपाको सदस्यता भने चैत २३ गते नै लिएको देखिएको छ।

यस आधारमा उनी करिब दुई महिनासम्म एमाले र रास्वपा दुवै दलसँग जोडिएको अवस्थामा रहेको चर्चा सुरु भएको छ।

राजनीतिक दल सम्बन्धी कानुनले एउटै व्यक्ति एकै समयमा दुई फरक दलको सदस्य बन्न नपाउने व्यवस्था गरेकाले यो विषय थप चासोको केन्द्र बनेको हो।

सापकोटाले भने लामो सोचविचारपछि मात्रै पार्टी परिवर्तनको निर्णय लिएको बताएकी छन्।

सामाजिक सञ्जालमा उनले एमालेमा बिताएको १५ वर्ष जनताको हित र राजनीतिक योगदानका लागि समर्पित रहेको उल्लेख गर्दै पार्टीप्रति धन्यवाद व्यक्त गरेकी छन्।

उनले पार्टी परिवर्तनलाई स्वाभाविक राजनीतिक प्रक्रिया भन्दै यसलाई अस्वाभाविक रूपमा नलिन आग्रहसमेत गरेकी छन्।

साथै सक्रिय कार्यकर्तालाई संरक्षण गर्न नसक्नु नेतृत्वको कमजोरी भएको संकेत पनि गरेकी छन्।

राजीनामा पत्रमा उनले वर्तमान राजनीतिक अवस्था, वैचारिक मतभेद र व्यक्तिगत निर्णयका कारण एमालेमा निरन्तर रहन उपयुक्त नठानेको उल्लेख गरेकी छन्।

सापकोटाको निर्णय सार्वजनिक भएसँगै एमालेभित्र पनि नेतृत्व शैलीमाथि प्रश्न उठ्न थालेको छ।

एमाले नेतृ नविना लामाले सामाजिक सञ्जालमार्फत सक्रिय र पुराना कार्यकर्ताको उचित मूल्यांकन तथा संरक्षण हुन नसकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।

उनले कार्यकर्ताको भावना बुझ्न नसक्ने, जिम्मेवारी बाँडफाँटमा विभेद गर्ने र लामो समयसम्म जिम्मेवारीविहीन बनाउने प्रवृत्तिले संगठन कमजोर बन्ने टिप्पणी गरेकी छन्।

सापकोटाको घटनाले नेपालमा दल परिवर्तन, राजनीतिक नैतिकता र कानुनी व्यवस्थाको प्रभावकारिताबारे फेरि बहस सुरु गराएको छ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com