काठमाडौं। देशभर सञ्चालनमा रहेका १० वटा औद्योगिक क्षेत्र मार्फत करिब २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणले औद्योगिक क्षेत्रको वर्तमान अवस्था र लगानी प्रवृत्तिबारे महत्वपूर्ण तथ्य सार्वजनिक गरेको हो।

advertisement

सर्वेक्षणअनुसार करिब ६ हजार १६ रोपनी क्षेत्रफलमा फैलिएका औद्योगिक क्षेत्रहरूमा हालसम्म ७०६ उद्योग दर्ता भएका छन्।

तीमध्ये ६३८ उद्योग नियमित रूपमा सञ्चालनमा छन् भने २६ उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्।

बाँकी १६ उद्योग बन्द अवस्थामा छन् भने २६ वटा अन्य संघसंस्थाको रूपमा रहेका छन्।

देशका सातै प्रदेशमा बालाजु, पाटन, भक्तपुर, हेटौंडा, धरान, नेपालगन्ज, पोखरा, बुटवल, वीरेन्द्रनगर र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र सञ्चालनमा छन्।

यी क्षेत्रहरूको स्थापना उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार—जस्तै जमिन, भवन, सडक, विद्युत्, पानी र ढल—एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले गरिएको हो।

सरकारले औद्योगिक तथा लगानी वातावरण सुधारका लागि विभिन्न कानुनहरू संशोधन गरेको छ।

औद्योगिक व्यवसाय ऐन २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, कम्पनी ऐन २०६३ र विशेष आर्थिक क्षेत्र ऐन २०७३ लाई परिमार्जन गर्दै लगानीमैत्री वातावरण बनाउने प्रयास गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

यसैबीच स्टार्टअप उद्यम प्रवर्द्धनका लागि नयाँ नीतिगत व्यवस्था पनि अघि सारिएको छ।

स्टार्टअप उद्यम नीति २०८१ र स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ लागू भइसकेका छन्।

स्टार्टअप कर्जा कार्यक्रमअन्तर्गत गत वर्ष ५ हजारभन्दा बढी प्रस्ताव प्राप्त भएका थिए भने चालु वर्षमा यो संख्या १० हजार नाघेको छ।

औद्योगिक बौद्धिक सम्पत्तिको क्षेत्रमा पनि वृद्धि देखिएको छ। हालसम्म देशमा ७० हजारभन्दा बढी ट्रेडमार्क, ९० वटा पेटेन्ट र ३२० वटा डिजाइन दर्ता भएका छन्।

वैदेशिक लगानीको क्षेत्रमा भने चीन सबैभन्दा ठूलो लगानीकर्ता देश बनेको छ।

आर्थिक सर्वेक्षणअनुसार कुल स्वीकृत वैदेशिक लगानीमध्ये चीनको हिस्सा ४८ प्रतिशत पुगेको छ।

त्यसपछि भारतको हिस्सा १७.९ प्रतिशत रहेको छ भने बाँकी ३४.१ प्रतिशत अन्य देशहरूको लगानी रहेको देखिन्छ।

विशेषगरी औद्योगिक पूर्वाधार विस्तार, नीतिगत सुधार र स्टार्टअप प्रवर्द्धनका प्रयासले देशको औद्योगिक विकासलाई गति दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com