काठमाडौँ। रामेछाप जिल्लाकी २५ वर्षीया सरिता म्यागेन लामा (घिसिङ) ले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेकी छन्।
उनले मे २७ बिहान ५:१५ बजे शिखरमा पाइला टेकेर आफ्नो पर्वतारोहण यात्रामा ऐतिहासिक उपलब्धि हासिल गरेकी हुन्।
लिखुतामाकोशी गाउँपालिका–५ निवासी सरिता लामाले सगरमाथा आरोहणअघि तयारीस्वरूप लोबुचे हिमालको सफल आरोहण समेत गरेकी थिइन्।
उक्त अभ्यासले उनलाई उच्च हिमाली क्षेत्रको चुनौतीपूर्ण अवस्थाका लागि तयार बनाएको बताइन्छ।
सरिताले आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपालको साहसिक पर्यटन प्रवर्द्धनसँग जोडिएको उपलब्धिका रूपमा लिएकी छन्।
उनका अनुसार नेपालको हिमाली सौन्दर्य र पर्वतारोहण सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिनेछ।
आरोहणपछि उनले आफ्नो उद्देश्य स्पष्ट पार्दै महिलाहरूलाई साहसका साथ अगाडि बढ्न प्रेरित गर्ने लक्ष्य रहेको बताएकी छन्।
उनले असम्भव जस्तो देखिने लक्ष्यहरू पनि निरन्तर प्रयास र आत्मविश्वासले पूरा गर्न सकिने सन्देश दिन चाहेको उल्लेख गरेकी छन्।
सानै उमेरमा सगरमाथा सफलतापूर्वक आरोहण गरेकी सरिताको उपलब्धिलाई नेपाली पर्वतारोहण क्षेत्रमा प्रेरणादायी घटनाका रूपमा हेरिएको छ।
यस सफलताले विशेषगरी युवा र महिला पर्वतारोहीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया