काठमाडौँ । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ। बाँकी तराई क्षेत्रमा आंशिक बदली छाएको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा मधेससहित विभिन्न तराई क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, तराई र पहाडी क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।
आज राति सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार












प्रतिक्रिया