काठमाडौं। लेबनानमा इजरायलले जारी राखेको सैन्य गतिविधि र आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।

स्रोतका अनुसार सोमबार भएको टेलिफोन वार्तामा ट्रम्पले इजरायलको पछिल्लो सैन्य योजना र विशेषगरी बेरुतमा सम्भावित बमबारीको तयारीप्रति असन्तोष जनाउँदै तत्काल रोक्न आग्रह गरेका थिए।

advertisement

उनले यस्तो कदमले क्षेत्रीय तनाव झनै बढ्ने चेतावनी दिएका थिए।

वार्ताका क्रममा ट्रम्पले नेतान्याहूलाई इजरायलको पछिल्लो रणनीति असन्तुलित र अत्यधिक आक्रामक भएको भन्दै आलोचना गरेका थिए।

उनले लेबनानमा भइरहेको ठूलो मात्रामा क्षति र सर्वसाधारणको मृत्युप्रति गम्भीर चिन्ता व्यक्त गरेको बताइएको छ।

ट्रम्पले इजरायलको आत्मरक्षाको अधिकारलाई स्वीकार गरे पनि हालका सैन्य कदमहरूले परिस्थितिलाई थप जटिल बनाइरहेको धारणा राखेका थिए।

उनले बेरुतमा आक्रमणको योजना अगाडि बढाइए इजरायल अन्तर्राष्ट्रिय रूपमा एक्लिन सक्ने चेतावनी समेत दिएका थिए।

अमेरिकी दबाबपछि इजरायलले तत्कालका लागि बेरुतमा आक्रमण गर्ने योजना स्थगित गरेको एक इजरायली अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

यता इजरायली प्रधानमन्त्री नेतान्याहूको कार्यालयले भने हेजबुल्लाहले आक्रमण रोक्नुपर्ने र अन्यथा दक्षिणी लेबनानमा सैन्य कारबाही जारी रहने बताएको छ।

यस घटनाले मध्यपूर्वमा जारी तनावपूर्ण अवस्थालाई अझ संवेदनशील बनाएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com