मनिला। दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प मा परी ज्यान गुमाउनेको संख्या बढेर १५ पुगेको छ ।
फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अनुसार भूकम्पले पुर्याएको ठूलो भौतिक क्षतिका बीच उद्धार टोलीहरूले विभिन्न भग्नावशेषबाट मृतकहरूको शव निकालेका हुन् ।
स्थानीय नागरिक सुरक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनाले मिन्डानाओ टापुको दक्षिण-कटबाटो, सुल्तान कुदरात, सराङ्गानी प्रान्त र जनरल सान्तोस सहर समेटिएको ‘सोक्ससार्जेन’ क्षेत्रमा मात्रै १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
भूकम्पका कारण हालसम्म सोही क्षेत्रमा मात्रै कम्तीमा १२९ जना गम्भीर रूपमा घाइते भएका छन् भने अन्य क्षेत्रमा पनि हताहतीको विवरण संकलन गर्ने कार्य जारी रहेको छ ।
भूकम्पको मुख्य धक्कापछि समुद्री तटीय क्षेत्रहरूमा सुनामीका शक्तिशाली छालहरू समेत रेकर्ड गरिएका छन् ।
फिलिपिन्सको भूगर्भ विभागले मिन्डानाओका ६ वटा छुट्टाछुट्टै तटीय इलाकाहरूमा स्थानीय समय अनुसार बिहान ७:४२ बजेदेखि ८:४५ बजेको बीचमा सुनामीका लहरहरू ठोक्किएको जनाएको छ ।
मापन गरिएका छालहरूमध्ये सबैभन्दा अग्लो छाल १.४ मिटर (४.६ फिट) सम्मको रेकर्ड गरिएको छ ।
सुनामीको उच्च जोखिमलाई मध्यनजर गर्दै राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरले तटीय क्षेत्रका सर्वसाधारणलाई आफ्नो सामानको पर्वाह नगरी तत्कालै सुरक्षित र उच्च स्थानतर्फ जान कडा निर्देशन दिनुभएको छ ।
सुरक्षाका लागि मिन्डानाओ क्षेत्रका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएका छन् भने सेना र तटरक्षक बललाई उद्धारमा परिचालन गरिएको छ ।
मुख्य भूकम्पपछि सो क्षेत्रमा लगातार शक्तिशाली परकम्पहरू जाने क्रम जारी रहँदा सर्वसाधारणहरू चरम त्रासमा बाँचिरहेका छन् ।
भूगर्भ विभागका अनुसार स्थानीय समय अनुसार बिहान ११:०० बजेसम्ममा मात्रै १३८ पटक परकम्पहरू रेकर्ड भइसकेका छन्, जसको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्मको रहेको छ ।
लगातार गइरहेका ६ म्याग्निच्युडभन्दा माथिका परकम्पहरूका कारण भूकम्पले चर्किएका करिब ३७ वटा व्यावसायिक र सरकारी भवनहरू थप भत्किने जोखिम बढेको छ ।
यस प्राकृतिक विपत्तिले प्रभावित क्षेत्रहरूमा विद्युत् आपूर्ति र सञ्चार सेवा पूर्ण रूपमा ठप्प पारेको छ भने लगातारको परकम्पका कारण उद्धारकर्मीहरूलाई भग्नावशेषभित्र फसिरहेका मानिसहरूको खोजी गर्न र राहत सामग्री पुर्याउन निकै कठिन भइरहेको छ ।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया