काठमाडौं । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर, भारतीय नागरिक आलम जोल्हा, वडासचिव राजकुमार कहार तथा कार्यालय सहयोगी मिना चौधरी रहेका छन्।
प्रहरीका अनुसार भारतीय नागरिक आलम जोल्हालाई स्थानीय बासिन्दा भएको भन्दै वडाध्यक्ष अहिरले नागरिकता सिफारिस गरेको आरोप छ। उक्त सिफारिसका आधारमा नेपाली नागरिकता प्राप्त गर्ने प्रयास भएको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय गढवा ले चारै जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरी निरीक्षक डबलबहादुर बम का अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि नागरिकता सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनासँग सम्बन्धित अन्य पक्षबारे पनि अनुसन्धान जारी रहेको जनाएको छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया