धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा मंगलबार पर्यटक माइक्रोबस र कार एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १२ः४० बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ग १ प २०७ नम्बरको पर्यटक माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०२७ च ५१३६ नम्बरको कार आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा कारमा सवार पाँच जना तथा माइक्रोबसमा रहेका दुई जना गरी सात जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी बैरेनी अस्पताल र गल्छीस्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको थियो। थप उपचार आवश्यक देखिएपछि उनीहरूलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा काठमाडौं बुढानिलकण्ठ–१० का ५७ वर्षीय टोपबहादुर कार्की, ५४ वर्षीया लक्ष्मी कार्की, काठमाडौं महानगरपालिका–७ की २८ वर्षीया रुस्मिता थापा, ५४ वर्षीया मिना बुढाथोकी तथा कार चालक ६० वर्षीय लोकबहादुर बुढाथोकी रहेका छन्।
त्यसैगरी, माइक्रोबसमा सवार चितवन भरतपुर महानगरपालिका–११ का ५७ वर्षीय लेखबहादुर गुरुङ र धादिङ थाक्रे गाउँपालिका–२ की १७ वर्षीया दीपिका रिजाल पनि घाइते भएका छन्।
प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार










प्रतिक्रिया