काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले ले कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्र अझै पूर्ण रूपमा लयमा फर्किन नसकेको बताएका छन्। प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले बजारमा माग कमजोर रहनु, आर्थिक गतिविधिमा शिथिलता आउनु र निजी क्षेत्रको मनोबल खस्किनु अहिलेका मुख्य चुनौती भएको उल्लेख गरे।
स्वर्णिम वाग्ले ले कमजोर बनेको बजार मागलाई पुनर्जीवित गर्नु सरकारको प्राथमिकता रहेको बताउँदै मध्यमवर्गको क्रयशक्ति घट्दा उद्योग, व्यापार, सेवा, पर्यटन र रोजगारी सबै क्षेत्रमा असर पर्ने बताए। अर्थतन्त्रलाई पुनः चलायमान बनाउन मध्यमवर्गको आत्मविश्वास, निजी क्षेत्रको भरोसा र राज्यको खर्च गर्ने क्षमता पुनर्स्थापना आवश्यक रहेको उनको भनाइ थियो।
उनले बजेट कुनै निश्चित वर्गलाई सुविधा दिन नभई समग्र अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यले ल्याइएको स्पष्ट पारे। सरकारले राज्य र निजी क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गर्दै निजी क्षेत्रलाई आर्थिक वृद्धि, लगानी, उत्पादन र रोजगारीको प्रमुख इन्जिनका रूपमा अघि बढाउने नीति लिएको बताए।
अर्थमन्त्री वाग्लेले बजार पूर्ण रूपमा स्वनियन्त्रित नहुने भएकाले राज्यको प्रभावकारी नियमन आवश्यक रहेको धारणा राखे। “बजार आफैँ स्थिर हुँदैन, त्यसलाई राज्यका निकायले स्थिर बनाउने हो,” उनले भने।
सामाजिक सुरक्षाका कार्यक्रम कटौती गरिएको भन्ने आलोचनालाई अस्वीकार गर्दै उनले सरकारले कुनै पनि लोककल्याणकारी कार्यक्रम नहटाएको दाबी गरे। बरु दलित बालबालिकाका लागि पौष्टिक आहारलगायतका थप कार्यक्रम समेटिएको जानकारी दिँदै सामाजिक सुरक्षामा सरकारको प्रतिबद्धता अझ सुदृढ बनाइएको बताए।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया