काठमाडौं। राष्ट्रिय बाल अधिकार परिषद्ले भक्तपुरको सूर्यविनायक नगरपालिका-८, सिपाडोलमा सञ्चालित ‘मुस्कान सेवा नेपाल’ नामक बाल गृहबाट ८ बालबालिकाको उद्धार गरेको छ ।
परिषद्का अनुसार उक्त बाल गृहले बाल गृह सञ्चालन सम्बन्धी मापदण्ड पूरा नगरेको र त्यहाँ रहेका बालबालिकाहरू जोखिममा पर्न सक्ने देखिएकाले जेठ २८ गते २ बालक र ६ बालिका गरी ८ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुनःस्थापना गरिएको हो ।
बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार अनुमति नलिई वा तोकिएको मापदण्ड पूरा नगरी बाल गृह सञ्चालन गर्नु कानुन विपरीत हो । यस्तो कार्य गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुन सक्ने प्रावधान छ ।
परिषद्ले अनुमति नलिई वा मापदण्ड पूरा नगरी बाल गृह सञ्चालन नगर्न चेतावनी दिँदै कतै मापदण्ड विपरीत बाल गृह सञ्चालन भएको पाइएमा तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई अपिल गरेको छ ।
स्थानीय बाल अधिकार समिति र बाल कल्याण अधिकारीहरूलाई पनि आ-आफ्नो क्षेत्रमा रहेका बाल गृहहरूको नियमित अनुगमन गर्न आग्रह गरिएको छ ।
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया