काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल विगत १० देखि १५ वर्षको अवधिमा विभिन्न निहित स्वार्थ समूहहरूको प्रभाव र नियन्त्रणमा परेको दाबी गरेका छन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न निकायहरू समेत यस्ता स्वार्थ समूहहरूको प्रभाव र दबाबमा सञ्चालन भएको तथ्यहरू अहिले क्रमशः बाहिर आउन थालेको बताए।

advertisement

अर्थमन्त्री वाग्लेले वर्तमान सरकार ती स्वार्थ समूहहरूको जालो तोड्ने र मुलुकको अर्थतन्त्रमा देखिएका विकृति तथा बेथितिहरूलाई मूल तहबाटै सफा गर्ने उद्देश्यसहित ‘क्लिन अप द मेस’ अभियानमा केन्द्रित रहेको स्पष्ट पारे।

उनका अनुसार नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अनियमिततासम्बन्धी फाइल अहिले न्यायिक प्रक्रियामा प्रवेश गरेको छ। १ खर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको उक्त मुद्दा अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनले यसको पृष्ठभूमि बुझ्दा राजनीतिक तथा प्रशासनिक संरचना कसरी प्रभावित भएको थियो भन्ने कुरा स्पष्ट हुने बताए।

‘त्यो फाइलको सम्पूर्ण पृष्ठभूमि अध्ययन गर्दा देशका राजनीतिक र प्रशासनिक निकायहरू कसरी प्रभावित भएका रहेछन् भन्ने देख्दा गम्भीर प्रश्न उठ्छ,’ उनले भने।

उनले सरकारले सुरु गरेको शुद्धीकरण अभियानले मुलुकमा व्याप्त अनियमितता, बेथिति र संरचनागत कमजोरी अन्त्य गर्ने विश्वास व्यक्त गरे।

मुलुक कहिल्यै अघि बढ्दैन र यहाँ केही सम्भव छैन भन्ने नकारात्मक धारणा युवामा फैलिँदा वैदेशिक पलायन बढेको उल्लेख गर्दै उनले त्यस सोचलाई बदल्न सरकार प्रतिबद्ध रहेको बताए।

युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताउँदै उनले भने, ‘तपाईंहरू आउनुहोस्, के सुधार आवश्यक छ भन्नुहोस्। त्यसका लागि बजेट कुर्नुपर्दैन।’

अर्थमन्त्री वाग्लेले सुशासन र आर्थिक समृद्धिको आधार तयार पार्न सरकार पाँच वर्षे स्पष्ट कार्ययोजनासहित अघि बढिरहेको पनि दोहोर्‍याए।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com