काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कंगोका लागि यो विश्वकप इतिहासकै पहिलो गोल र पहिलो अंक हो।

खेलको छैटौँ मिनेटमै पोर्चुगलले अग्रता लिएको थियो। पेड्रो नेटोको सुन्दर क्रसलाई जोआओ नेभेसले हेडमार्फत गोलमा परिणत गरेका थिए। खेलको सुरुवातमा पोर्चुगलले दबाब बनाए पनि कंगोले डटेर सामना गर्‍यो।

advertisement

पहिलो हाफको इन्जुरी समयमा कंगोका योआने विसाले आर्थर मासुयाकुको क्रसमा उत्कृष्ट हेड गोल गर्दै खेललाई बराबरीमा ल्याए।

५२ वर्षअघि सन् १९७४ मा पहिलो पटक विश्वकप खेलेको कंगोका लागि यो गोल निकै विशेष रह्यो, किनकि यो विश्वकपमा उनीहरूको पहिलो गोल थियो।

दोस्रो हाफमा पोर्चुगलका जोआओ कान्सेलोले ‘ओभरहेड किक’ मार्फत गोल गरे पनि रेफ्रीले त्यसलाई ‘अफसाइड’ घोषित गरिदिए। खेलको अन्त्यतिर दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् र खेल बराबरीमा सकियो।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यस खेलमार्फत नयाँ इतिहास रचेका छन्। ४१ वर्ष १३२ दिनको उमेरमा मैदान उत्रिएका रोनाल्डो विश्वकपमा ‘स्टार्टिङ ११’ (खेलको सुरुवातमै मैदान छिर्ने) मा पर्ने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बनेका छन्। यो उनको २३औँ विश्वकप खेल हो, जसका साथ उनले इटालीका लिजेन्ड पाओलो माल्दिनीको कीर्तिमानसँग बराबरी गरेका छन्।

रोनाल्डो विश्वकप खेल्ने इतिहासकै दोस्रो पाका आउटफिल्ड खेलाडी बनेका छन्। यसअघि क्यामरुनका रोजर मिलाले ४२ वर्ष ३९ दिनको उमेरमा सन् १९९४ को विश्वकप खेलेका थिए।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com