काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता झलनाथ खनालमाथि प्रतिक्रियावादी शक्तिसँग मिलेर पार्टीभित्र असन्तुष्टि र कलह फैलाएको आरोप लगाएका छन्।
शुक्रबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण कार्यक्रमको शुभारम्भ गर्दै बोल्दै प्रचण्डले खनालको पछिल्ला गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले पार्टीको नीति, नेतृत्व र संगठनात्मक एकतालाई कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै केही नेताहरू जानाजान वा अनजानमै बाह्य शक्तिहरूको प्रभावमा परेर भ्रम र निराशा फैलाउने काममा लागेको टिप्पणी गरे।
प्रचण्डले पार्टीलाई कमजोर बनाउने किसिमका गतिविधिहरू भइरहेको भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताए। उनले वाम तथा कम्युनिस्ट शक्तिहरू फेरि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै विभिन्न राजनीतिक दलहरूसँग छलफल भइरहेको जानकारी दिए।
उनले अहिले नै निराशा फैलाउनेभन्दा संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताउँदै आगामी महाधिवेशनबाट धेरै विषयको समाधान हुने विश्वास व्यक्त गरे।
यसैबीच, वरिष्ठ नेता झलनाथ खनालले प्रचण्ड र माधवकुमार नेपालले पार्टीको नेतृत्व गर्न नसक्ने आशयसहित ३६ बुँदे आरोपपत्र बुझाएको विषयले पार्टीभित्रको आन्तरिक विवाद थप चर्किएको छ।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












प्रतिक्रिया