काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनलाई सफलताको शुभकामना दिएका छन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सन्देशमा रास्वपालाई थप परिपक्व, जिम्मेवार र दूरदर्शी बन्ने अवसरका रूपमा महाधिवेशनलाई उपयोग गर्न सुझाव दिएका छन् ।

advertisement

उनले रास्वपाले छोटो समयमै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति बनाएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्यमान्यता, नागरिक अधिकार र राज्यको जवाफदेहितालाई सुदृढ बनाउन महाधिवेशनले सकारात्मक ऊर्जा दिने विश्वास व्यक्त गरेका छन् ।

कांग्रेसको तर्फबाट महाधिवेशनमा आधिकारिक प्रतिनिधित्व गर्दै पार्टी उपसभापति डा. पुष्पा भुसाल चितवन पुगेर शुभकामना दिने कार्यक्रम तय भएको छ । सभापति थापा आफैं उपस्थित हुन इच्छुक रहे पनि अन्य दलहरूको निर्णयअनुसार सन्तुलन मिलाउन भुसाललाई पठाइएको हो ।

महाधिवेशनमा अन्य प्रमुख दलहरूबाट पनि शीर्ष नेताहरूको सहभागिता रहने भएको छ । नेकपा (एमाले) बाट पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, नेपाल कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनस्थल चितवन पुग्ने कार्यक्रम छ ।

गए रातिको भारी वर्षाका कारण प्रभावित बनेको महाधिवेशन स्थलको आज बिहान गृहमन्त्री सुधन गुरुङले निरीक्षण गरी पानी हटाउन निर्देशन दिएका छन् ।

चितवन प्रदर्शनी केन्द्रमा भव्य रूपमा सुरु हुन लागेको यस महाधिवेशनमा देशभरिबाट करिब ४ हजार २११ जना प्रतिनिधि सहभागी हुने छन् ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com