चितवन। नयाँ राजनीतिक संस्कारको दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन व्यवस्थापकीय कमजोरी, आन्तरिक विवाद र मतदान प्रक्रियामाथि उठेका प्रश्नका कारण विवादमा परेको छ।

तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित भरतपुरमा सुरु भएको महाधिवेशन पाँचौँ दिनसम्म लम्बिँदा पनि नेतृत्व चयन प्रक्रिया निष्कर्षमा पुग्न सकेको छैन। निर्वाचन प्रक्रिया सुरु हुनुअघि नै प्रतिनिधिहरूको अन्तिम नामावली टुंगो लगाउन नसक्दा महाधिवेशनको व्यवस्थापनप्रति प्रश्न उठेको हो।

advertisement

पार्टीका अनुसार ४ हजार ३ सय ११ जना प्रतिनिधि महाधिवेशनमा सहभागी भए पनि केन्द्रीय समितिको पहिलो चरणको निर्वाचनमा २ हजार ९ सय ५९ जनाले मात्र मतदान गरेका छन्।

९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि ३ सय ८४ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। यसबीच विद्युतीय मतदान प्रणालीमा नामावली राख्ने क्रमलाई लिएर गम्भीर असन्तुष्टि देखिएको छ। केही उम्मेदवारहरूले वर्णानुक्रम र आन्तरिक वरीयतालाई बेवास्ता गर्दै शीर्ष नेताहरूको नाम सुरुमै राखिएको आरोप लगाएका छन्।

उम्मेदवारहरू यज्ञमणि न्यौपाने, दीपक बोहोरा, आशिका तामाङ र ज्वाला सङ्ग्रौलालगायतले नामावलीको क्रमले पछाडिका उम्मेदवारलाई अन्याय भएको भन्दै विरोध जनाएका छन्। उनीहरूले निर्वाचन संयन्त्र निष्पक्ष नभएको आरोपसमेत लगाएका छन्।

महाधिवेशनमा गुटबन्दी नरहने सार्वजनिक प्रतिबद्धता भए पनि विभिन्न समूहले आफ्ना उम्मेदवारको सूची वितरण गरेको आरोप बाहिरिएको छ। यसले पार्टीभित्र समानान्तर समूह सक्रिय रहेको संकेत गरेको छ।

सभापति रवि लामिछाने यसअघि नै निर्विरोध चयन भइसकेका छन्। वरिष्ठ नेता बालेन शाह सहित केही प्रभावशाली नेताले भने केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छैनन्।

यसैबीच, प्रवास समितिको अनलाइन मतदान अर्को विवादको विषय बनेको छ। विदेशमा रहेका १६३ प्रतिनिधिले मोबाइल एपमार्फत मतदान गरेका थिए। तर उक्त प्रणालीको पारदर्शितामाथि सातै प्रदेशका सभापतिहरूले प्रश्न उठाएका छन्।

अनलाइन मतदानप्रति असहमति बढेपछि केन्द्रीय निर्वाचन आयोगले मतगणना प्रक्रिया समेत तत्कालका लागि स्थगित गरेको छ। प्रतिनिधि विवाद, उम्मेदवार सूचीको व्यवस्थापन र अनलाइन मतदानसम्बन्धी असन्तुष्टिले रास्वपाको पहिलो महाधिवेशन वैचारिक बहसभन्दा बढी आन्तरिक विवादको केन्द्र बनेको देखिएको छ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com