काठमाडौं। नेपालको कम्युनिस्ट आन्दोलनका प्रमुख नेताहरू लामो समयपछि एउटै सार्वजनिक मञ्चमा देखिएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको विशेष विचार गोष्ठीमा विभिन्न वामपन्थी दलका शीर्ष नेताहरू एकै स्थानमा उपस्थित भएका हुन्।

कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सहसंयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल अतिथि तथा वक्ताका रूपमा सहभागी भएका थिए।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहेको उक्त समारोहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी आयोजना गरिएको थियो। साथै, मदन भण्डारी राष्ट्रिय पुरस्कारसमेत प्रदान गरिएको थियो।

पछिल्ला वर्षहरूमा राजनीतिक दलहरूबीच बढ्दो दूरी र बदलिँदो राजनीतिक समीकरणका बीच आयोजना भएको यस कार्यक्रममा कम्युनिस्ट आन्दोलनका सिद्धान्तकार तथा जनताको बहुदलीय जनवाद (जबज) का प्रवर्तक मदन भण्डारीको योगदानबारे चर्चा गरिएको थियो।

लामो समयपछि कम्युनिस्ट आन्दोलनका शीर्ष नेताहरू एउटै मञ्चमा उपस्थित हुनु राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। यसलाई वामपन्थी दलहरूबीच संवाद, सहकार्य र सम्भावित राजनीतिक समझदारीको संकेतका रूपमा समेत व्याख्या गरिएको छ।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com