काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले जिम्मेवारी सम्हाल्दा करिब ३० खर्ब रुपैयाँ सार्वजनिक ऋणको भार विरासतका रूपमा प्राप्त गरेको बताएका छन्।

आइतबार प्रतिनिधिसभामा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकार गठनसँगै देशको प्रशासनिक जिम्मेवारीसँगै ठूलो ऋणको दायित्व पनि आफूहरूले वहन गर्नुपरेको उल्लेख गरे। उनका अनुसार सार्वजनिक ऋण कुनै एक सरकारको समयमा मात्र सिर्जना हुने विषय नभई लामो समयदेखि थुप्रिँदै आएको दायित्व हो।

अर्थमन्त्री वाग्लेले पछिल्लो १० वर्षमा विदेशी ऋणको अनुपात कुल गार्हस्थ्य उत्पादन (GDP) को २५ प्रतिशतबाट बढेर ४३ प्रतिशत पुगेको बताए। उनले यति छोटो अवधिमा ऋणको अनुपात उल्लेख्य रूपमा बढ्नुका कारणबारे गम्भीर अध्ययन आवश्यक रहेको धारणा राखे।

उनले वर्तमान सरकारले थप ऋण लिए पनि ‘डेट–टु–जीडीपी’ अनुपात नबढ्ने गरी व्यवस्थापन गर्ने लक्ष्य राखेको स्पष्ट पारे। आन्तरिक राजस्व वृद्धि, वित्तीय अनुशासन र प्रभावकारी खर्च व्यवस्थापनमार्फत ऋणको भार स्थिर राख्ने सरकारको योजना रहेको उनले बताए।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com