काठमाडौं। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गर्मीको सुरुआतमै युरोपमा देखिएको अभूतपूर्व तापलहरका कारण थप १ हजार ३ सयभन्दा बढी जनाको मृत्यु भएको बताएका छन्।
आइतबार महादेशभरि तापक्रमले पुनः नयाँ कीर्तिमान बनाएको छ। जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा नयाँ तापक्रम रेकर्ड कायम भएको छ भने तीव्र गर्मी पूर्वी युरोपसम्म फैलिएको छ।
टेड्रोसले सामाजिक सञ्जालमार्फत असार ७ गतेयता उच्च तापक्रमसँग सम्बन्धित थप मृत्यु रेकर्ड भएको जानकारी दिएका हुन्।
उनले अत्यधिक गर्मीबाट हुने शारीरिक तनावलाई “मौन हत्यारा”को संज्ञा दिँदै युरोपका घर, कार्यालय र विद्यालय यस्ता तापक्रम सहन सक्ने गरी निर्माण नगरिएको बताए।
उनले युरोप पृथ्वीमै सबैभन्दा तीव्र रूपमा तातिरहेको महादेश भएको उल्लेख गर्दै यहाँको तापवृद्धि विश्व औसतभन्दा दोब्बर गतिमा भइरहेको चेतावनी दिए।
फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारदेखि अपेक्षाभन्दा करिब १ हजार बढी मृत्यु भएको छ।
तीमध्ये अधिकांश ६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू रहेका छन्। घरमै हुने मृत्युको संख्या पनि ४० प्रतिशतले बढेको जनाइएको छ।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार













प्रतिक्रिया