काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफू नयाँ पार्टी गठन गर्न लागेको वा पार्टी विभाजनको तयारीमा रहेको भन्ने प्रचारलाई निराधार र भ्रामक भएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता खनालले आफूविरुद्ध योजनाबद्ध रूपमा कुप्रचार गरिएको भन्दै त्यसको कडा खण्डन गरे।

उनले आफ्नो सम्पूर्ण राजनीतिक जीवन गुटबन्दीको विरोधमा बिताएको उल्लेख गर्दै पार्टी फुटाउने वा नयाँ दल खोल्ने कुनै सोच र योजना नरहेको स्पष्ट पारे।

‘केही मानिसहरूले झलनाथ खनाल अर्को पार्टी खोल्दैछ, पार्टी फुटाउन लाग्दैछ भन्ने कुप्रचार गरेका रहेछन्,’ उनले भने, ‘म ती सबैलाई स्पष्ट भन्न चाहन्छु– यस्तो भ्रम फैलाउने काम कसैले नगरोस्। मैले जीवनभर गुटबन्दीको विरोध गरेको छु। गुट बनाउने र पार्टी फुटाउने राजनीति मेरो सिद्धान्त र अभ्यास दुवै होइन।’

खनालले अहिलेको लोकतान्त्रिक व्यवस्थाको अधिकतम उपयोग गर्दै समाजवादी लोकतन्त्र स्थापना गर्न समाजवादी रूपान्तरण अपरिहार्य रहेको धारणा पनि राखे।

उनका अनुसार वाम आन्दोलनभित्र देखिएका वैचारिक विचलन, असमझदारी र अन्योललाई खुला बहस र वैचारिक विमर्शमार्फत समाधान गर्नुपर्ने आवश्यकता छ। यही उद्देश्यका साथ आफूले ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ पुस्तक लेखेको उनले बताए।

उनले वैज्ञानिक समाजवादको स्पष्ट वैचारिक आधार निर्माण गर्नु अहिलेको राजनीतिक आवश्यकता भएको उल्लेख गर्दै भ्रम, आरोप–प्रत्यारोप र कुप्रचारभन्दा विचार र सिद्धान्तको बहसलाई प्राथमिकता दिन सबै राजनीतिक शक्तिलाई आग्रह गरे।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com