काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको छ।
नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्ने टोलीलाई आयोजित विशेष समारोहमा बिदाइ गर्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोरिने विश्वास व्यक्त गरे।
कार्यक्रममा टोलीका कप्तान रोहित पौडेलले टोली सन्तुलित र आत्मविश्वासी रहेको उल्लेख गर्दै शृङ्खलामा उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता जनाए।
उनले भने, ‘हाम्रो टोलीको संयोजन निकै राम्रो छ। नेदरल्यान्ड्स र नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौँ। त्यसअनुसार मानसिक तयारी गरेका छौँ र प्रत्येक खेलाडीले आफ्नो शतप्रतिशत प्रदर्शन गर्नेछ।’
क्यानका अनुसार नेपालले जुलाई २१ देखि सुरु हुने लिग–२ त्रिदेशीय शृङ्खलाअघि जर्सीमा तयारी क्याम्प गर्नेछ। तयारीका क्रममा टोलीले जुलाई १३ र १५ मा दुई अभ्यास एकदिवसीय खेल पनि खेल्नेछ।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार













प्रतिक्रिया