काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी विज्ञापनलाई सञ्चारमाध्यमले अधिकारका रूपमा नहेर्न आग्रह गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघको एक कार्यक्रममा बोल्दै उनले सरकारी विज्ञापनसम्बन्धी विषय संवाद र छलफलमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गरे।
मन्त्री तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै नीति नलिएको स्पष्ट पार्दै संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको संरक्षणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
उनले स्वतन्त्र, जिम्मेवार र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई सुदृढ बनाउने उल्लेख गर्दै प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता नभई संविधान र कानुनको दायराभित्र रहेर तथ्यमा आधारित तथा उत्तरदायी पत्रकारिता गर्नु भएको बताए।
उनले पत्रकारितामा व्यावसायिक आचारसंहिता, सामाजिक उत्तरदायित्व र जवाफदेहिताको समान रूपमा पालना हुनुपर्नेमा जोड दिँदै सञ्चार क्षेत्रको स्वतन्त्रता, सुरक्षा र पेशागत वातावरण सुनिश्चित गर्न सरकार निरन्तर क्रियाशील रहेको बताए।
कार्यक्रममा सञ्चार क्षेत्रका प्रतिनिधि, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार













प्रतिक्रिया