काठमाडौं। भारतको पञ्जाब राज्यस्थित तरनतारण जिल्लामा श्रीमतीलाई माइतीबाट फर्काउन ससुराली पुगेका एक युवकको जिउँदै जलाएर हत्या गरिएको छ। घटनामा उनलाई बचाउन पुगेकी उनकी सालीको पनि उपचारका क्रममा मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार १३ जुनमा तरनतारण जिल्लाको संघा गाउँमा भएको घटनामा लवप्रीत सिंह आफ्नी श्रीमती सन्दीप कौरलाई घर फर्काउन ससुराली पुगेका थिए। केही दिनअघि पति–पत्नीबीच विवाद भएपछि श्रीमती माइती गएकी थिइन्।
प्रहरीका अनुसार सोही क्रममा लवप्रीतमाथि उनका साला साजन सिंहले पेट्रोल खन्याएर आगो लगाइदिएका थिए। गम्भीर रूपमा जलेका लवप्रीतको घटनास्थलमै मृत्यु भएको थियो।
उनीमाथि आगो लगाइएको देखेपछि छुट्याउन पुगेकी उनकी साली गुरजीत कौर पनि आगोको चपेटामा परेकी थिइन्। उनलाई उपचारका लागि अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा आरोपी साजन सिंह पनि आगोले जलेर घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले उनीविरुद्ध हत्या मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
यस घटनाको भिडियो हालै सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक रूपमा फैलिएको छ। भिडियोमा एक व्यक्तिले ज्वलनशील पदार्थ खन्याएर आगो लगाएको र त्यसपछि पीडितलाई बचाउने प्रयास भएको देखिन्छ। प्रहरीले घटनाको भिडियोसमेत अनुसन्धानको क्रममा अध्ययन गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार













प्रतिक्रिया