काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले कर्मचारीतन्त्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यही प्रवृत्ति कायम रहे वर्तमान सरकारलाई समेत असफल बनाउने खतरा रहेको चेतावनी दिएका छन्।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै दोलखाबाट निर्वाचित सांसद खरेलले जनप्रतिनिधिले नागरिकका समस्या लिएर सरकारी निकायमा जाँदा समेत कर्मचारीबाट अपेक्षित सहयोग नपाइने गरेको गुनासो गरे।

उनले भौतिक पूर्वाधार मन्त्रालयको एउटा घटनाको उदाहरण दिँदै आफूले अन्यायमा परेकी एक कर्मचारीको विषय उठाउँदा सम्बन्धित अधिकारीहरूले जिम्मेवारीबाट पन्छिने प्रयास गरेको आरोप लगाए। आफ्ना निकटका व्यक्तिलाई संरक्षण गर्ने र अन्यलाई विभेद गर्ने प्रवृत्ति कर्मचारीतन्त्रमा अझै कायम रहेको उनको दाबी थियो।

खरेलले कर्मचारीतन्त्र फेरि प्रभावशाली बन्दै गएको उल्लेख गर्दै यस्तै अवस्था रहिरहे विगतमा जस्तै सरकार सञ्चालनमा गम्भीर समस्या उत्पन्न हुन सक्ने चेतावनी दिए। उनका अनुसार राजनीतिक नेतृत्वले परिवर्तनको प्रयास गरे पनि कर्मचारी संयन्त्रले साथ नदिए त्यसको प्रत्यक्ष असर सरकारको कार्यसम्पादनमा पर्नेछ।

सांसद खरेलले कर्मचारीतन्त्रले जनप्रतिनिधिको भूमिकालाई समेत सम्मान नगरेको आरोप लगाउँदै प्रधानमन्त्रीको मात्रै होइन, संसद् र सांसदहरूको संस्थागत मर्यादा पनि समान रूपमा संरक्षण हुनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com