काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क तथा समन्वय कार्यालय स्थापना गरेको छ।

सोमबार १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सक्रियतामा कार्यालय उद्घाटनसँगै समूहको औपचारिक बैठक पनि सुरु भएको हो। बैठकमा पार्टीको आन्तरिक अवस्था, महाधिवेशनको तयारी, संगठन सुदृढीकरण र आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको छ।

बैठकको प्रारम्भिक सत्रमा नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको बहस, नियमित महाधिवेशनको तयारी तथा पार्टीभित्र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले पार्टीभित्र देखिएको आन्तरिक विभाजन अन्त्य गरी लोकतन्त्रको सुदृढीकरणका लागि बलियो एकता अपरिहार्य रहेको बताए। उनले नेतृत्व तहबाट पार्टीलाई एकताबद्ध बनाउन प्रभावकारी पहल हुन नसकेको आरोपसमेत लगाए।

विश्वकर्माले वर्तमान नेतृत्वकै कारण पार्टीभित्रको विवाद लम्बिएको दाबी गर्दै विशेष महाधिवेशनको बहसले संगठनलाई कमजोर बनाएको र त्यसको असर अघिल्लो निर्वाचनको परिणाममा समेत परेको टिप्पणी गरे।

बैठकले आगामी साउन ६ गते नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवसलाई विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाउने निर्णय गरेको छ। यसका लागि मंगलबार पुनः बैठक बसेर कार्यक्रमको स्थान, स्वरूप र विस्तृत कार्यतालिका तय गरिने जनाइएको छ।

त्यसै बैठकबाट १५औँ महाधिवेशनको तयारी, सम्पर्क कार्यालयमार्फत सञ्चालन गरिने अभियान तथा आगामी राजनीतिक गतिविधिबारे पनि आवश्यक निर्णय गरिने नेता विश्वकर्माले जानकारी दिए।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com