काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको विकास र समृद्धिको नेतृत्व अब नयाँ पुस्ताले गर्नुपर्ने बताएका छन्। उनले पुरानो पुस्ताले आफ्नो अनुभव, ज्ञान र सीप हस्तान्तरण गर्दै नयाँ पुस्तालाई साथ दिनुपर्नेमा जोड दिएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै भट्टराईले मुलुकको आर्थिक रूपान्तरणका लागि पुरानो पुस्ताको अनुभव, नयाँ पुस्ताको प्रविधिमैत्री सोच र देशमा उपलब्ध स्रोत–साधनलाई प्रभावकारी रूपमा जोड्न आवश्यक रहेको बताए।

आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग किन निकट देखिएको भन्ने प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उनले कुनै दलविशेषका लागि नभई आफूले दशकौँदेखि उठाउँदै आएको विकास र समृद्धिको अभियानलाई अघि बढाउन नयाँ पुस्तासँग सहकार्य गरिरहेको स्पष्ट पारे।

‘मैले करिब पाँच दशकदेखि उठाउँदै आएको विकास र समृद्धिको एजेन्डालाई साकार पार्न सक्ने शक्ति नयाँ पुस्तामा देखेको छु। त्यसैले उनीहरूलाई अनुभव हस्तान्तरण गर्नु र साथ दिनु आवश्यक ठानेको हुँ,’ उनले भने।

डा. बाबुराम भट्टराईले मुलुकको समृद्धिका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ काम गर्नुपर्ने धारणा राखे। विज्ञान र प्रविधिको तीव्र विकाससँगै शासन र विकासको शैली पनि परिवर्तन हुनुपर्ने उल्लेख गर्दै उनले नयाँ पुस्ताको ऊर्जा र प्रविधिमैत्री सोचलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताए।

उनले विगतमा राजनीतिक अधिकार प्राप्तिका लागि गठन भएका परम्परागत राजनीतिक संगठनहरू अहिलेको विज्ञान र प्रविधिको युगमा पर्याप्त नहुने तर्क गर्दै समयअनुकूल सोच, नेतृत्व र कार्यशैली आवश्यक भएको बताए।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com