काठमाडौं । गृहमन्त्री सुदन गुरुङ झापा भ्रमणमा रहेका छन्। सीमा सुरक्षा सुदृढीकरण, सीमावर्ती क्षेत्रका सुरक्षा चुनौतीको मूल्याङ्कन तथा जङ्गली हात्तीबाट प्रभावित बस्तीको अवस्था बुझ्ने उद्देश्यसहित उनी आइतबार राति झापा पुगेका हुन्।

सोमबार बिहान अर्जुनधारा नगरपालिका–११ स्थित सालबारीमा गृहमन्त्री गुरुङले जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग सुरक्षा अवस्थाबारे विस्तृत छलफल गरेका छन्। बैठकमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बलका अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिको सहभागिता थियो।

छलफलमा भारतसँगको खुला सीमाबाट हुने चोरी–पैठारी, लागुऔषध ओसारपसार, मानव बेचबिखन, सीमा अपराध नियन्त्रण तथा जिल्लाको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गरिएको थियो। गृहमन्त्रीले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक निर्देशनसमेत दिएका छन्।

भ्रमणका क्रममा उनले बुद्धशान्ति गाउँपालिका–६, सन्तपुर पुगेर जेन–जी आन्दोलनका क्रममा घाइते भएका अनिकेत चौलागाईँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए।

त्यसपछि गृहमन्त्री गुरुङले मेचीनगर–७ स्थित जोरसिमल सशस्त्र प्रहरी चेकपोस्ट, काँकरभिट्टा सीमा नाका तथा मेची भन्सार कार्यालयको स्थलगत निरीक्षण गरे। निरीक्षणका क्रममा उनले सीमा व्यवस्थापन, यात्रु जाँच, राजस्व सङ्कलन र सीमा नाकाको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिँदै आवश्यक सुधारका लागि निर्देशन दिएका छन्।

भ्रमणको अर्को महत्वपूर्ण एजेन्डा झापाको बाहुण्डाँगी क्षेत्रमा वर्षौंदेखि कायम जङ्गली हात्तीको समस्या हो। गृहमन्त्रीले प्रभावित बस्तीको निरीक्षण गर्नुका साथै स्थानीयवासी, जनप्रतिनिधि र सरोकारवालासँग प्रत्यक्ष छलफल गरेर समस्या समाधानका उपायबारे सुझाव लिने कार्यक्रम रहेको छ।

गृहमन्त्रीको भ्रमणलाई लक्षित गर्दै जिल्ला प्रहरी प्रशासनले झापाभर सुरक्षा सतर्कता बढाएको जनाएको छ। प्रहरीका अनुसार सुरक्षा निकाय विगत ३६ घण्टादेखि उच्च सतर्कताका साथ परिचालन गरिएको छ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com