काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ललितपुरको इमाडोलमा सार्वजनिक रूपमा यौन दुर्व्यवहारको शिकार भएकी युवतीको साहसको खुलेर प्रशंसा गर्दै दोषीलाई कानुनी दायरामा ल्याइएको बताएका छन्। साथै उनले महिलाविरुद्ध हुने यौन हिंसा र उत्पीडनप्रति सरकारको शून्य सहनशीलताको नीति दोहोर्याएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले पीडित युवतीले अन्यायविरुद्ध निर्भीक रूपमा आवाज उठाएको भन्दै उनको साहस अनुकरणीय रहेको उल्लेख गरे। उनले घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको जानकारी पनि दिएका छन्।
ललितपुर प्रहरीका अनुसार घटनामा संलग्न बैतडीको पाटन नगरपालिका घर भएका ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका छन्। उनी सरकारी सेवामा कार्यरत कर्मचारी हुन्। पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूमाथि भएको दुर्व्यवहारको भिडियो सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै आरोपितलाई नियन्त्रणमा लिएको थियो।
गृहमन्त्री गुरुङले कुनै पनि महिला वा बालिकामाथि हुने यौन दुर्व्यवहार सभ्य समाजका लागि अस्वीकार्य रहेको स्पष्ट पार्दै पीडितले न्यायका लागि आफैँ भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आउनु अत्यन्त दुःखद र चिन्ताजनक भएको टिप्पणी गरे।
दोषी जोसुकै भए पनि कानुनको कठघरामा उभ्याएर कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रत्येक महिलाले सुरक्षित वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु राज्य र समाज दुवैको साझा जिम्मेवारी भएको बताए।
यौन हिंसाका घटनामा पीडितलाई नडराई उजुरी दिन आग्रह गर्दै गृहमन्त्रीले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन्। कुनै कारणले प्रहरीमा उजुरी दिन कठिनाइ भए सम्बन्धित जिल्ला प्रहरी परिसर वा सिधै गृह मन्त्रालयमा जानकारी गराउन सकिने व्यवस्था रहेको पनि उनले उल्लेख गरेका छन्।
साथै, पीडितको उजुरी लिन अस्वीकार गर्ने वा घटनालाई बेवास्ता गर्ने कुनै पनि प्रहरी वा सम्बन्धित निकायमाथि मन्त्रालयले कडा निगरानी राख्ने र आवश्यक कारबाही गरिने चेतावनीसमेत गृहमन्त्री गुरुङले दिएका छन्।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार













प्रतिक्रिया