काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ज्वाला सङ्ग्रौलाले पार्टीभित्र परिवारवाद र नातावादको संकेत देखिन थालेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले रास्वपाले विधानमै परिवारवाद र नातावादलाई निषेध गरेको व्यवस्था नेपाली राजनीतिका लागि सकारात्मक सुरुवात भए पनि त्यसको प्रभाव व्यवहारमा स्पष्ट रूपमा देखिन नसकेको उल्लेख गरेकी हुन्।
सांसद ज्वाला सङ्ग्रौलाले पछिल्लो समय रास्वपाका नेताहरूका दाजुभाइ, दिदीबहिनी वा अन्य आफन्त विभिन्न जिम्मेवारीमा पुगेको भन्ने समाचार सार्वजनिक भइरहेकाले यसले आमजनतामा स्वाभाविक रूपमा प्रश्न उठाएको बताएकी छन्।
उनले परिवर्तनको राजनीति गर्ने दलले योग्यता, इमानदारी र योगदानलाई मात्रै जिम्मेवारी निर्धारणको आधार बनाउनुपर्ने धारणा राखिन्। पारिवारिक सम्बन्धका आधारमा कुनै पनि पद वा अवसर प्रदान गर्नु नयाँ राजनीतिक संस्कारसँग मेल नखाने उनको भनाइ छ।
रास्वपाले आफ्नै विधानको मर्मलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले लेखेकी छन्, ‘परिवर्तनको वास्तविक मापन भाषणले होइन, व्यवहारले हुन्छ। परिवारवादको सानो छायाँसमेत देखिन नदिने राजनीतिक संस्कार नै नयाँ राजनीतिको सबैभन्दा बलियो उदाहरण हो। यो उदाहरणमा रास्वपा खरो उत्रनै पर्छ।’
नयाँ राजनीतिक संस्कारको पक्षधरका रूपमा आफूलाई प्रस्तुत गर्दै आएको रास्वपामा आफ्नै सांसदबाट आएको यो सार्वजनिक टिप्पणीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रकाशित मिति: २३ असार २०८३, मंगलबार












प्रतिक्रिया