काठमाडौं । विश्वकप फुटबल २०२६ को अन्तिम १६ अन्तर्गत अर्जेन्टिनासँग पराजित भएपछि इजिप्टले रेफ्रीको निर्णयविरुद्ध अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)मा औपचारिक उजुरी दर्ता गरेको छ।
इजिप्ट फुटबल संघले बुधबार विज्ञप्ति जारी गर्दै खेलमा रेफ्री फ्रान्कोइस लेटेक्सियर र भिडियो सहायक रेफ्री (भीएआर) टोलीबाट गम्भीर त्रुटि भएको दाबी गरेको हो। संघले दुवैको भूमिका छानबिन गरी प्रतियोगिताबाट हटाउन फिफासँग माग गरेको छ।
अर्जेन्टिनासँग ३–२ ले पराजित हुँदै विश्वकप यात्रा टुंग्याएको इजिप्टले खेलको निर्णायक क्षणमा आफू अन्यायमा परेको दाबी गरेको छ। संघका अनुसार टोली १–० ले अगाडि रहेका बेला मोस्ताफा जिकोले गरेको गोल भीएआरको सिफारिसपछि रद्द गरिएको थियो। त्यसअघि अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजमाथि फाउल भएको भन्दै रेफ्रीले आफ्नो निर्णय परिवर्तन गरेका थिए।
इजिप्टले अर्जेन्टिनाका एन्जो फर्नान्डेजले निर्णायक गोल गर्नु अघि एलेक्सिस म्याक एलिस्टरले हम्दी फाथीमाथि फाउल गरेको दाबी गर्दै आफूहरूले पेनाल्टी पाउनुपर्ने जनाएको छ।
संघले खेलका केही महत्त्वपूर्ण भिडियो फुटेजको समीक्षा नगरेको आरोप पनि लगाएको छ। ती दृश्यले आफ्नो टोलीको वैध गोल र पेनाल्टीको दाबी पुष्टि गर्ने विश्वास इजिप्टको छ।
खेलपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले पनि रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै आफ्नो टोली अन्यायपूर्ण निर्णयको सिकार भएको प्रतिक्रिया दिएका थिए।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार












प्रतिक्रिया